स्याङ्जा । वालिङमा सम्पन्न स्याङ्जा ‘आइसीसी’ भलिबल कपको उपाधि बिरुवा गाउँपालिकाले जितेको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा मालेबगर खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पुतलीबजारलाई हराउँदै बिरुवाले उपाधि चुमेको हो ।
निकै प्रतिस्पर्धात्मक एवम् रोमाञ्चक खेल ३–२ को सेट निकाल्दै बिरुवा गाउँपालिकाले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
पहिलो र दोस्रो सेट जितेको पुतलीबजारले तेस्रो, चौथो र पाँचौ सेटमा हार व्यहोर्दा उपाधि चुम्नबाट चुके ।
पहिलो र दोस्रो सेट क्रमशः पुतलीबजार २५–२३ र २५–१९ को ले जित्यो । तेस्रो र चौथो सेट बिरुवाले क्रमशः २९–२७ र २५–१० ले जित्यो । खेलको अन्तिम सेट अर्थात पाँचौ सेटमा बिरुवाले १५–१२ को अंक ल्याउँदै सेट सहित उपाधि पनि जित्यो । बिरुवाले उपाधि सहित नगद १ लाख ५० लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाए ।
द्वितीय स्थान प्राप्त पुतलीबजारले १ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाए ।
प्रतियोगितामा तृतीय भीरकोट नगरपालिका र सन्त्वना कालीगण्डकी गाउँपालिका भए । तृतीय स्थान प्राप्त भीरकोटले ५० हजार रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाए ।
यता कालीगण्डकीले २५ हजार नगद मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।
खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका अमृत केसी सर्वोत्कृष्ट खेलाडी चुनिए । यस्तै उत्कृष्ट स्पाइकर सञ्जु विक्रम शाह, उत्कृष्ट मिड ब्लकर सन्जोक परियार, उत्कृष्ट सेटर मिलन राना, उत्कृष्ट सर्भर देवेन्द्र परियार र उत्कृष्ट क्वीकर कमल सुनार भए । उनीहरु सबैले नगद, मेडल र प्रमाणपत्र पाए ।
कार्तिक २ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जिल्लाका ११ पालिकाको सहभागि रहेको थियो ।