स्याङजा । प्रसिद्ध धार्मिक तीर्थस्थल उत्तरवाहिनीमा दामोदर मासमा महायज्ञको आयोजना गरिएको छ । रम्भा गाउँपालिका १ अर्सेदी र गल्याङ नगरपालिका १ मा अवस्थित कालीगण्डकी गुरुकुल सहयोगार्थ महायज्ञको आयोजना गरिएको हो ।
गुरुकुलको नियमित खर्च सञ्चालनमा सहजताका लागि महायज्ञको आयोजना गरिएको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिए । उनले भने, ‘गुरुकुलबाट प्रवाह भैरहेको विद्यादान, जीवनदान र अन्नदान लगायतका सेवाहरु सञ्चालनमा समस्या छ, जसको व्यवस्थापनका निम्ति महायज्ञ आयोजना गरिएको हो ।’
कक्षा ६ देखि १० सम्म (माध्यमिक तह) अध्ययन–अध्यापन हुने गुरुकुलमा ३३ जना विद्यार्थी छन् । शिक्षक र कर्मचारी १२ जना रहेका छन् । जसमध्ये ९ जना शिक्षक र ३ जना कर्मचारी हुन् । ९ जना शिक्षक मध्ये १ जना स्थायी र बाँकी अस्थायी (करार र नीजि स्रोत)का शिक्षक रहेका छन् ।
गुरुकुलमा दक्ष, अनुभावी तथा विषय शिक्षकद्वारा अध्यापन गराइरहेका छन् । त्यस्तै गुरुकुलमा आधुनिक विज्ञान प्रयोगशाला, प्रविधिमैत्री पुस्तकालय, योग–व्यायमशाला, चिसोतातो पानी लगायतका सुविधा छन् । गतवर्षको एसईई परीक्षामा गुरुकुलबाट साहभागि विद्यार्थीहरु सतप्रतिशत उतीर्ण भएका थिए ।
महायज्ञबाट करीब ११ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ । ११ हजार भन्दा माथिका दानलाई अक्षयकोष स्थापना गर्नेछ । अक्षयकोषको सहायक धन (व्याज)बाट गुरुकुलको खर्च व्यवस्थापन गर्ने आयोजकले जनाएको छ ।
सहायक धन (व्याज)बाट गुरुकुलमा पढ्ने विद्यार्थी र पहुनाको विद्यादान (अध्ययन), जीवनदान (स्वास्थ्यपोचर) र अन्नदान (खाना)मा खर्च गरिनेछ ।