स्याङ्जा । ‘बढ्दो वैदेशिक आकर्षणः कारण र समाधान’ विषयमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । दुर्गाखिमा फाउण्डेशनको आयोजनामा यही कार्तिक २६ र २७ गते वालिङमा स्याङ्जा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
फाउण्डेशनद्वारा शनिबार वालिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष गोपाल कँडेलले भने, ‘देशका युवाहरुले विदेश पलायन खोज्नुको कारण के ? लगायतका प्रश्नको जवाफ खोज्न प्रतियोगिताको आयोजना गरेका हौं ।’
पछिल्लो समय केही समुहले देशको शैक्षिक, राजनीतिक, आर्थिक र रोजगारीको अवस्थालाई सतही रुपमा व्याख्या गर्दै आएकाले त्यसले आशा भन्दा बढी निराशा बढाएको अध्यक्ष कँडेलले बताए । ‘राज्य सञ्चालकले केही गरेन र देशमा केही भएन भन्ने भाष्य स्थापित हुँदै आएको छ । यसले नकारात्मक सन्देश बाहेक केही फैलिएको छैन’, उनले थपे ।
प्रतियोगितामा प्रथम हुनले नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी द्वितीय, तृतीय र सन्त्वना (दुईजना) हुनेले क्रमशः २५ हजार, १५ हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँ पाउनेछन् ।
अध्यक्ष कँडेलका स्व. पिता दुर्गा प्रसाद कँडेल र माता खिमाकान्ती कँडेलको स्मृतिमा २०७६ सालमा स्थापित फाउण्डेशनले स्थापनाकालदेखि समाजमा विभिन्न परोपकारी एवम् रचनात्मक कार्यहरु गर्दै आएका छन् ।
प्रतियोगिताको व्यवस्थापन भेषजराज साहित्य प्रतिष्ठान वालिङले गर्ने आयोजकले जनाएको छ ।