फागुन १, काठमाण्डौ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को २९ औं अन्तर्राष्ट्रिय सम्मेलन फागुन १५ देखि १७ (फेब्रुअरी २७ देखि मार्च १, २०२५) गते सम्म ललितपुरमा आयोजना हुने भएको छ । सम्मेलनमा विश्वका २० देशका एक हजार जना प्रतिनिधी उपस्थित हुनेछन् ।
सम्मेलनमा मेसिन, मानवता र भाषाः अङ्ग्रेजी भाषा शिक्षणमा नखोजिएका विषयहरुलाई प्राथमिकता साथ उठाइने नेल्टा केन्द्रीय उपाध्यक्ष डा. भिमलाल गौतमले जानकारी दिए । ‘नेपाल र विश्वभर अङ्ग्रेजी शिक्षामा काम गर्ने संस्थाहरुको व्यावसायिक संस्कृतिको बिकास गर्नु आजको आवश्यकता हो,’ डा. गौतमले भने,‘अङ्ग्रेजी शिक्षामा भएका र गर्नुपर्ने अद्यावधिकहरु, नवीनतम् उपलब्धिहरु आदानप्रदान गर्नु सम्मेलनको मुख्य कार्यभार हुनेछन् ।’ नेपालका अङ्ग्रेजी भाषा शिक्षक, विशेषज्ञ लगायतहरुको व्यावसायिक सञ्जालको रुपमा नेल्टाले सम्मेलन, सेमिनार र कार्यशाला आयोजना पहल गर्नुपर्ने उनले औँल्याए ।
डा. गौतमले विश्वभरका विभिन्न संस्थाहरूमा काम गर्ने अङ्ग्रेजी शिक्षक र विषय विशेषज्ञहरुले साझेदारी, सँगै काम गर्ने अवसर र ठाउँ सिर्जना गरेमा यसले एक अर्कालाई फाइदा हुने बताए । आगामी सम्मेलन पनि यस्तै किसिमको शैक्षिक छलफलको विरासत र अवसरको निरन्तरता रहेको उनले बताए ।
सम्मेलनमा नेपाल लगायत बेलायत, संयुक्त राज्य अमेरिका, जापान, सिंगापुर, मलेसिया, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्याण्ड, रूस, मंगोलिया, श्रीलंका, नेपाल, लगायत २० भन्दा बढी देशका मुख्य वक्ताहरू, विशेष वक्ताहरू र प्यानलिस्टहरू गरि १ हजार भन्दा बढी सहभागि हुनेछन् ।
नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सन् १९९२ मा एक स्वैच्छिक, गैर–राजनीतिक, गैर–नाफामुखी संस्थाको रूपमा स्थापित भएको थियो जसको मुख्य उद्देश्य दक्ष मानव संसाधनको विकास गर्नु र अंग्रेजी शिक्षकहरू, अंग्रेजी भाषा शिक्षण सम्बन्धी पेशाकर्मीहरू, अनुसन्धानकर्ताहरू र विद्यार्थीहरूलाई उनीहरूको निरन्तर व्यावसायिक उन्नतिको लागि सहयोग प्रदान गर्नु हो । यो संस्था नेपालमा अंग्रेजी भाषा शिक्षण मार्फत शिक्षाको स्तर बढाउन प्रतिबद्ध छ । हाल नेल्टाले देशका ७७ जिल्लाहरूमध्ये ७ वटा प्रादेशिक समितिहरूसँगै ६० शाखाहरू मार्फत काम गर्छ । नेल्टामा ५ हजार पाँच सय भन्दा बढी आजीवन सदस्यहरू छन् । नेल्टाले रेलो अमेरिकी दूतावास काठमाडौं, ब्रिटिश काउन्सिल, टिसोल (अमेरिका), आएटेफल (बेलायत), बेल्टा (बंगलादेश), सपेल्ट (पाकिस्तान), एलटाई (भारत), जाल्ट (जापान), मेल्टा (मलेसिया), आइनेट (भारत), नाइल टिसोल (इजिप्ट), बेल्ट एण्ड रोड (चीन) र टेसोल (स्पेन), नाटे ( रूस), रेल्क (सिंगापुर), कोरिया टिसोल, मंगोलिया टिसोल जस्ता प्रतिष्ठित संस्थाहरूसँग नजिकबाट सहकार्य गरेको छ ।
सम्मेलनको प्रारम्भिक रुपरेखा
क. स्वदेश र विदेशका विज्ञहरूबाट भाषा, अङ्ग्रेजी शिक्षा र व्यावहारिक भाषाविज्ञानका विविध विषयहरूमा मुख्य टिप्पणीहरू र आमन्त्रित भाषणहरू
ख. केही उल्लेखनीय मुख्य वक्ताहरूः
प्राध्यापक तीर्थराज खनिया (नेपाल)
प्राध्यापक जयराज आचार्य (नेपाल)
प्राध्यापक लक्ष्मण ज्ञवाली (नेपाल)
डा. गंगाराम गौतम (नेपाल)
डा. दयामुद्रा एन डेन्नेही (संयुक्त राज्य अमेरिका)
नीनाज इचापोरिया (इङ्गल्याण्ड)
प्राध्यापक डा. एल्भिन पाङ (सिंगापुर)
प्राध्यापक डा. रोबर्ट स्ट्राउड (जापान)
प्राध्यापक लिन्डसे एन. हेरोन (कोरिया)
ग. संयुक्त र व्यक्तिगत प्रस्तुति र पोस्टर प्रदर्शन (अङ्ग्रेजी शिक्षा र व्यावहारिक भाषाविज्ञानका विभिन्न विषयवस्तु र क्षेत्रहरूमा लगभग १ सय ६० भन्दा बढी प्रस्तुतिहरू हुनेछन्)
विभिन्न विषयवस्तु र विषयहरूमा प्यानल र कार्यशालाहरूः
क. नेपाली सन्दर्भमा अङ्ग्रेजी शिक्षावारे पुनर्विचारः नेपालमा भाषिक विविधताको बहुभाषिक व्यवस्थापन (मध्यस्थकर्ताः डा. भीम लाल गौतम)
डा. लव देव अवस्थी
डा. प्रेम प्रसाद पौडेल
प्राध्यापक मोतिकला सुब्बा देवान
ख. संगोष्ठी र कविता सत्र
ग. सम्मेलन अवधिभर विभिन्न संगोष्ठी र अन्तरक्रियात्मक अङ्ग्रेजी भाषा मेलाको साथै कविता वाचन लगायत गतिविधिहरू आयोजना गरिनेछ ।
घ. साथै सम्मेलनमा अक्सफोर्ड, राउटलेज, रेलो, ब्रिटिश काउन्सिल, युसेइफ आदि लगायत विभिन्न प्रकाशन र संस्थाहरूद्वारा पुस्तक मेला र अन्य भाषिक खेलहरू आयोजना गरिनेछ ।