स्याङ्जा । नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट QAA सम्बन्धन प्राप्त क्याम्पसमा शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने भएको हो । ४ वर्षे कोर्ष अध्ययनका लागि ३६ सीट संख्या रहेको क्याम्पसले जनाएको छ ।
सूचना प्रविधि, सूचना र सञ्चार एवम् डिजिटल क्षेत्रका सम्पूर्ण विद्यार्थीहरुका लागि रचनात्मक तरिकाले समस्या समाधान गराउने सिपको विकासमा लागि सूचना तथा सञ्चार प्रविधि शिक्षाको आवश्यकता रहेका वालिङ बहुमुखी क्याम्पसका प्रमुख सच्चिदानन्द यादले बताए । ‘प्राविधिक शिक्षा आजको आवश्यकता हो’, क्याम्पस प्रमुख यादवले भने, ‘अध्ययनसँगै रोजगारको सुनिश्चिता खालको शिक्षाको विकल्प छैन ।’ वालिङ लगायत आसपासका क्षेत्रमा यस्ताखाले अध्ययन–अध्यापन नभएकाले प्रविधिमा दक्षता जनशक्ति उत्पादन गर्ने उनले दावी गरे ।
क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइरालाले समयानुकूल प्रविधिमा दक्षता कायम गर्न क्याम्पसले सूचना तथा सञ्चार प्रविधि शिक्षा विषयमा अध्ययन–अध्यापन गराउनले लागेको बताए । अध्ययन पाश्चात लोकसेवा, स्थानीय पालिकामा प्राविधिक जनशक्ति, शिक्षक सेवा, बैंक तथा वित्तिय क्षेत्रका निम्ति दक्ष जनशक्ति तयार पार्नमा क्याम्पसको अहम् भूमिका रहने अध्यक्ष कोइरालाको भनाई छ ।
BICTE नै किन ?
त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायद्वारा सञ्चालित ४ वर्षे (आठ सेमेस्टर) BICTE कोर्ष अन्य IT कोर्ष सरह सिकाइको पूर्ण अवधारणामा आधारित छ । यस कोर्षले विद्यार्थीहरूको सूचना प्रविधि, सूचना र सञ्चार प्रविधि एवम् डिजिटल क्षेत्रका सम्पूर्ण समस्याहरूलाई रचनात्मक तरिकाले समस्या समाधान गराउने सिपको विकास गराउँदछ । त्यसैगरी BICTE कोर्ष पूरा गरिसकेपछि विद्यार्थीहरूमा सफ्टवेयर विकासको व्यवहारिक सिप एवम् यसको प्रशस्त शैक्षिक ज्ञान हुनुका साथै Software Programming, Database Management, Information System आदिको पनि ज्ञान हुन्छ । BICTE कोर्ष व्यवहारिकतामा आधारित सिकाइ वातावरण र IT क्षेत्रमा व्यवसायिक ज्ञान अभिवृद्धिको लागि तयार गरिएको हो । छिट्टै नै रोजगारतर्फ उन्मुख हुनका साथै लोकसेवा, शिक्षक सेवा आयोगद्वारा माग गरिने Computer Operator एवम् शिक्षकका लागि जनशक्ति निर्माण गर्न र सोअनुरुप तालिम प्राप्त जनशक्ति उत्पादन गर्नु यस कोर्षको मूल उद्देश्य पनि हो । यस कोर्षले विद्यार्थीहरूको लागि सूचना प्रविधि र शैक्षिक क्षेत्रको समस्या समाधानको लागि प्रशस्त सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्दछ ।