समाचार

गल्याङ, माघ २८ । गल्याङ नगरपालिका ९ साङ्लीयामा विश्वकर्मा मन्दिर उद्घाटन भएको छ । शुक्रबार गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नवनिर्मित मन्दिरको उद्घाट्न गरेका हुन् । 

सो अवसरमा नगरप्रमुख अधिकारीले भने, ‘विपन्न परिवारको उत्थान आजको अपरिहार्य हो । उत्पीडित समुदायको विकासबिना समृद्धिको कल्पना गर्न सकिदैन ।’

गरिब परिवारको स्तर उन्नतिका लागि जोड दिएकै कारण आफ्नो कार्यकालमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइएको उनले संस्मरण गराए । कोरोना संक्रमणका कारण लामो समय स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपरेकाले सोचे अनुरुप काम गर्न नसकेको उनको दावी थियो । 

कृषकहरुका लागि बंगुरपालन, कुखुरापालन लगायका धेरै योजनाहरु ल्याएको भन्दै नगर प्रमुख अधिकारीले नगरपालिकाले ल्याएका योजनाहरुमा सहभागी भई लाभ लिन समेत उनले आग्रह गरे । 

कार्यक्रममा नेकपा एमालेका पूर्व जिल्ला सदस्य निमप्रसाद खनाल, तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारी, स्थानीय फर्सुराम अर्याल, कमल वि.क., दिपक राना लगायतले बोलेका थिए । 

सोही अवसरमा नगर प्रमुख अधिकारीले विभिन्न २८ जना जेष्ठ नागरिकहरुलाई स्वीटर प्रदान गरि सम्मान पनि गरेका थिए ।

यसैगरी सोही अवसरमा करिब १० लाख बराबरको लागतमा निर्माण हुन लागेको दलित सामुदायिक भवनको समेत शिलान्यास नगर प्रमुख अधिकारीद्वारा गरिएको छ ।  


तस्बिरः केपी खनाल