समाचार

स्याङ्जा, फागुन १७ । अबदेखि स्याङ्जाको वालिङमा माटो परीक्षण हुने भएको छ । वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै वालिङमै माटो परीक्षण हुने भएको हो । माटो परीक्षणकालागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालाहरुमा लैजानुपर्ने बाध्यतालाई हटाउँदै वालिङ नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण ल्याब सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । माटोमा रहेको उर्बराशक्तिमा ह«ास आउन नदिने र उर्बराशक्तिलाई जोगाई राख्नकालागि प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । 

‘पछिल्लो समय माटोमा विभिन्न किसिमका रासायनिक मल तथा विषादीहरुको प्रयोग गर्ने क्रम बढेको छ’ नगरप्रमुख खाँणले भने, ‘जथाभावी रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटो बिग्रिन गई उत्पादन घट्दै गएकाले माटोको उपचार तथा संरक्षणकालागि आधुनिक प्रविधिको ल्याब स्थापना गरी सञ्चालनमा ल्याएका हौं ।’ नगरपालिकाले प्रयोगशालामा प्रयोग हुने औजार, उपकरण तथा रसायनहरु खरिद गरेर ल्याएको छ । सोमबारबाट सञ्चालनमा आएको प्रयोगशालाबाट निशुल्करुपमा किसानहरुले ल्याएको माटोको नमूना परीक्षण गरिदिने ब्यवस्था मिलाईएको उनले जानकारी दिए । 

उक्त प्रयोगशालाबाट माटोमा भएका विभिन्न १४ वटा खाद्य तत्वहरुको डिजिटल प्रविधिबाट यथार्थ विवरण प्राप्त हुने भएकाले पनि छिटो, छरितो र प्रभावकारी हुने नगर पालिकाका प्रशासकीय प्रमुख राजन भट्टाराईले बताए । डिजिटल माटो परीक्षण मिनील्याब सञ्चालनमा आएसँगै माटोमा रहेको पिएच, ईसी, प्राङ्गारिक पदार्थ, नाईट्रोजन, फस्फोरस, पोटासियम, सल्फर, जिङ्क, आईरन लगायतका १४ प्रकारका खाद्यतत्वहरुको जाँच गरिने प्रमुख भट्टाराई बताए । 

शुरुवति चरणमा किसानले ल्याएको माटो निःशुल्क रुपमा जाँच गरी प्राप्त नतिजाका आधारमा माटोको सुधारका लागि आवश्यक परामर्श दिने नगरपालिका जनाए । 

नगरका १४ वटै वडामा पुगेर किसानहरुलाई माटोको नमूना कसरी लिने भन्ने तरिका प्रदर्शन गरी अभ्यस्त बनाईसकेपछि माटो परीक्षण सेवालाई थप नियमित र प्रभावकारी ढंगले अगाडि बढाइने नगरपालिकाको कार्यक्रम रहेको छ ।