समाचार

स्याङ्जा, फागुन १९ । नेकपा (एमाले) कालीगण्डकी गाउँपालिकाको पालिका स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । आसन्न स्थानीय तहको चुनाव केन्द्रीत विस्तारित बैठक तथा प्रशिक्षण विर्घामा सम्पन्न भएको हो । 

बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् स्याङ्जा जिल्ला इन्चार्ज सीता सुन्दासले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम बनाउन पालिका कमिटीलाई आग्रह गरिन् । इन्चार्ज सुन्दासले भनिन्, ‘मन, वचन र कर्म स्थानीय तहको चुनावका लागि प्रयोगमा ल्याऔं । जसले पालिकाको सबै वडाहरु जित्न सफल रहोस् ।’ पालिकाको ७ ओटै वडाहरु जित्ने ठोस रणनीति बनाउन समेत उनले निर्देशन दिइन् । पालिका भरका कुनै पनि वडाहरु हार्न नपाईने उनको आशय थियो ।  

कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवम् कालीगण्डकी गाउँपालिका प्रमुख खिम बहादुर थापा, जिल्ला कमिटी अध्यक्ष सूर्य प्रसाद गैह्रे ‘पारस’, उपसचिव तारा शर्मा, जिल्ला कमिटी सदस्य केशर बहादुर क्षेत्री र गाउँ पालिका कमिटी अध्यक्ष कृष्ण लामिछानेले आसन्न निर्वाचनको बारे बोलेका थिए ।