समाचार

स्याङ्जा, फागुन १९ । नेकपा (एमाले) जिल्ला संगठन कमिटीले ११ ओटै पालिकामा चुनावी प्रशिक्षणलाई तीब्रता दिएको छ । जिल्ला कमिटीको फागुन १४ गतेको बैठकको निर्णय अनुसार बिरुवामा पालिका स्तरीय चुनाव केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  

प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य मिनप्रसाद गुरुङले संघियता कार्यन्वनमा स्थानीय तहको निर्वाचन अत्यन्तै महत्वपूर्ण रहेको बताए । ‘संघियताको जग भनेको स्थानीय तह हो । जनतालाई प्रत्यक्ष सेवा प्रवाहमा स्थानीय तहले महत्व राख्छ, गुरुङले भने, ‘संघियता कार्यन्वयनका लागि सबै पार्टी कमिटी, सबै नेता–कार्यकर्ता एक जुट भएर स्थानीय तहको निर्वाचनमा लाग्नुको विकल्प छैन ।’

स्थानीय तहको निर्वाचन भोलिका प्रदेश र संघको निर्वाचनको पनि आधार भएकाले स्थानीय तहमा सूर्य चिन्ह ध्वजावाहक उम्मेदवारलाई निर्वाचित गराउने खालका रणनीति बनाउन उनले आग्रह गरे । 

प्रदेश कमिटी सदस्य एवम् बिरुवा गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले बिरुवा पुनः एमालेले निर्वाचन जित्ने ठोकुवा गरे । उनका अनुसार २०७४ को स्थानीय तहको निर्वाचन भन्दा आगामी बैशाख ३० गतेको निर्वाचनमा एमालेले बढी सिट जित्ने दाबी गरे । 

कार्यक्रमका अन्य वक्ताहरु नेकपा (एमाले) जिल्ला कमिटी सचिव राजेन्द्र डुम्रे, उपसचिव विश्व पौडेल, संविधानसभा सदस्य टेकु नेपाली, क्षेत्र नम्बर १ का अध्यक्ष खड्काराज सुवेदी, जिल्ला कमिटी सदस्य डिल कुमार भुजेल, सूर्य कुँवर, कृष्ण बहादुर क्षेत्री, शिव वाग्ले, अब्बु मियाँ, प्रकाश थापा लगायतले स्थानीय तहको निर्वाचन एमालेले जिते मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा साकार हुने धारण राखे ।