समाचार

स्याङ्जा, फागुन २० । एमसीसी सम्झौता अनुमोदनलाई असंवैधानिक र गैरकानुनी रहेको नेकपा (एमाले)का केन्द्रीय सचिव एवम् पूर्वमन्त्री पद्मा कुमारी अर्यालले बताइन् । शुक्रबार जगतभञ्याङ्मा पार्टीको बृहत भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री अर्यालले गठबन्धन सरकारले अमेरिकी अनुदान मेलिनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका लागि संसदबाट अनुमोदन गरिनु नवउदारवादलाई फाइदा हुने पूर्वमन्त्री अर्यालले दावी गरिन् । 

पूर्वमन्त्री अर्यालले भनिन्, ‘समाजवाद र समृद्धिको नारा बोक्नेहरु एमसीसीमा आफ्नो यात्रालाई समाप्त गरे । दक्षिणपन्थीलाई सेवा पुग्नेगरी प्रचण्ड र माधव कुमार नेपाल लम्पसार भए ।’ एमसीसीले राष्ट्र अहित हुने कार्य गरेमा एमाले हात दही जमाएर नबस्ने उनले चेतावानी दिइन् ।

वर्तमान सरकार दक्षिणबाट आवश्यक भन्दा बढी प्रभावित र परिचालित भएको पूर्वमन्त्री अर्यालको आरोप थियो । ‘एमसीसीमा गठबन्धनको गाईजात्राले को कहाँबाट नियन्त्रित छ भन्नेमा प्रष्ट छ,’ उनले भनिन्, ‘दक्षिणलाई सोधेर देशको बारे निर्णय गर्नु गठबन्धनको लाचारिपनको पराकष्ट हो ।’ 

गठबन्धन सरकारसँग योजना, तत्परता र भिजन भन्दा बाँडीचुँडी खाने रणनीति रहेको उनले आरोप लगाइन् । गठबन्धन दलहरुलाई पार्टी एकता गरेर आगामी बैशाख ३० गते हुने निर्वाचनमा प्रतिस्पर्धामा आउन समेत उनले चुनौती दिइन् ।