समाचार

वालिङ, फागुन २४ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा स्याङ्जाको वालिङमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वालिङ नगरपालिकाद्वारा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । ‘सामाजिक न्याय र लैंगिक समानता ः दीगो विकासको सुनिश्चितता’ नारा रहेको यस वर्षको महिला दिवसका सन्दर्भमा ‘नेतृत्वमा महिलाको पहुँच अभिवृद्धि’ विषयक वक्तृत्वकला प्रतियोगिता गरेको हो ।

नगरभित्रका सामुदायिक र संस्थागत गरी सात विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा साईनभिलेज बोर्डिङ स्कुल वालिङकी छात्रा आस्था पराजुली प्रथम भइन् । 

त्यस्तै सगरमाथा बोर्डिङ स्कुलकी छात्रा स्नेह पाण्डे द्वितीय र राष्ट्रिय माध्यमिक विद्यालयकी छात्रा नम्रता कोइराला तृतीय भइन् । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका छात्राहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो । पुरस्कार वितरण गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले महिलाहरुको नेतृत्व विकास, बौद्धिक क्षमता विकास लागि यस प्रकारका प्रतियोगितात्मक कार्यक्रमहरुलाई निरन्तरता दिँदै जानुपर्ने बताइन् । ‘महिला दिवस मनाउने नाममा पुरुषलाई गाली गरेर होइन, वहाँहरुसँग सहकार्य गर्दै अगाडि बढ्नु आवश्यक छ,’ उपप्रमुख तिवारीले भनिन्, ‘महिलाहरुको हक, अधिकार र अवसरलाई सही सदुपयोग गर्न आग्रह गर्दछु ।’

कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा, सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डे, वडा नं. ६ की वडा सदस्य चीनमाया नेपाली, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, शिक्षिका भोजकुमारी पाण्डेलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।