समाचार

मिर्मी–स्याङ्जा, फागुन २७ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले ‘समृद्ध नेपाल–सुखी नेपाली’का लागि स्वस्थ हुन जरुरी रहेको बताए । बिहीबार नव मिर्मिरे क्लबद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उदघाटन् गर्दै थापाले भने, ‘मुलुकको समृद्धि तथा व्यक्ति विकासका लागि खेलकुदको अपरिहार्य छ । खेलकुदको विकासबिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव छैन ।’ थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि खेलकुदको विकासको विकल्प नरहेको बताए । खेलको विकासले मात्र पालिकाले समृद्धि हासिल गर्न सक्ने उनले दावी गरे । 

खेलकुदका संरचना बनाएर खेल पर्यटनको माध्यमबाट कालीगण्डकीलाई विश्वमा चिनाउन सक्ने अध्यक्ष थापाले सुनाए । स्थानीय सरकारले शिक्षा, स्वास्थ्य र खेलकुदलाई समान्तर रुपमा अगाडि बढाईरहेको समेत उनले बताए । पालिकाले बजेटमा पनि खेलकुदलाई प्राथमिकता राखेको बताउँदै खेलकुदका हरेक विधालाई अगाडि बढाउने उनले बताए । भलिबल, फुटलब र क्रिकेट लगायतका खेलले कालीगण्डकीको पहिचान गराउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘मिर्मी पर्यटनको सम्भावनाको खानी हो । जल पर्यटनसँगै खेल पर्यटनले पनि कालीगण्डकीको प्रचार–प्रसार गर्नुपर्छ ।’ भलिबल प्रतियोगिता यस क्षेत्रको प्रचार–प्रसार तथा पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगितालाई  सम्पन्न गर्न पालिका सरकारले आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।