समाचार

चैत, १५ स्याङ्जा । अगामी चुनावमा नेपाली कांग्रेस लगायतको गठबन्धनलाई पराजित गर्ने नेकपा (एमाले) केन्द्रीय सचिव पदमा अर्यालले दावी गरेकी छन् । मंगलबार अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी स्याङ्जाको सातौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले भनिन्, ‘वैशाखी टेक्ने गठबन्धनलाई आसन्न तीनै तहको चुनावमा पराजित गरिन्छ । परमादेशबाट बनेको गठबन्धन सरकारलाई हराउनुको विकल्प छैन ।’ एमालेलाई घेराबन्दी गर्न बनेको अपवित्र गठबन्धनको विकल्प जनादेश भएकाले जनताले सही निर्णय गर्नेमा उनी विश्वस्त थिइन् ।

मोर्चा एवम् गठबन्धन कमजोरीको परिचय बताउदै एमाले गठबन्धनसँग एक्लै चुनाव लड्ने सामाथ्र्य राख्ने अर्यालले घोषण गरिन् । ‘एमालेले दलीय गठबन्धन होइन, जनताबिचको गठबन्धन गर्छ’, उनले भनिन्, ‘एमालेसँग प्रष्ट जनआधारको गठबन्धन भएकाले एक्लै चुनाव लड्ने हिम्मत राख्छ ।’ एमालेलाई कमजोर नठान्न गठबन्धनलाई चेतवानी समेत दिइन् । 

गठबन्धन सरकारले गर्ने सबैखाले क्रियाकलापहरु मुलुकको समृद्धि र नागरिकको हित विपरीत भैरहेको बताउदै विर्नाचन एकमात्र विकल्प भएको बताइन् । एमालेलाई चौतर्फी हमला र मोर्चाबन्दी बढ्दै गएकाले त्यसले एमालेलाई भन्दा मुलुकलाई अहित हुने उनको भनाई थियो । ‘एमाले पार्टीको भविष्य के होला ? त्यसको चिन्ता गठबन्धनले लिनु पर्दैन । मुलुक र नागरिकको भविष्य बारे चिन्ता लिनुस्’, उनले थपिन् । 

यस्तै पूँजीवादी व्यवस्थाले महिलाको हकहितबारे वकालत नगर्ने बताउँदै समाजवादी व्यवस्थाका लागि ढटेर लाग्न महिला दिदीबहिनीहरुलाई आग्रह गरिन् । महिला दिदीबहिनीको लडाइँ पुरुषसँग नभई पितृसत्तात्मक सोँच बोक्नले सबै खाले तत्वसँग रहेको उनको भनाई थियो । 

नेकपा (एमाले) केन्द्रीय सदस्य टुका हमाल, सीता सुन्दास, सीमा क्षेत्री, किशोरविक्रम मल्ल, नेकपा (एमाले) प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी, प्रतिनिधिसभा सदस्य नारायण प्रसाद मरासिनी, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य मिनप्रसाद गुरुङ र नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष सूर्य प्रसाद गैह्रे र अनेमसंघ गण्डकी प्रदेश ससंयोजक तारा थापा मगरले सम्मेलनमा बोलेका थिए ।