समाचार

स्याङ्जा, चैत १७ । पछिल्लो समय स्याङ्जामा नेकपा (एमाले) पार्टीमा प्रवेशको लहर ह्वात्तै बढेको छ । नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव पदमा अर्याललाई गृह जिल्लाको पार्टी कार्यक्रमहरु भ्याइनभ्याई छ । दिनजसो हुने टोल कमिटीको कार्यक्रमदेखि जिल्ला स्तरीय कार्यक्रममा उनले सयम मिलाएकै छिन् । उनले गृह जिल्लाको कार्यक्रमहरुलाई प्राथमिकतामा राखेकी छन् । 

यस्तै क्रममा बिहीबार नेकपा (एमाले) भीरकोट नगर कमिटीद्वारा आयोजित बृहत नगर भेला तथा पार्टी प्रवेश कार्यक्रममा अर्यालले नेपाली कांग्रेसका युवा नेता एवम् ब्यवसायी ‘टाइगर’ भनिने मोहमद इक्काल मियाँलाई एमाले प्रवेश गराएकी छन् । उनीसँगै कांग्रेस, नेकपा (माओवादी) केन्द्र लगायतका १ सय ४७ जना एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई उनले माला, खादा र अबिरद्वारा स्वागत गरेका थिए । 

मुस्लिम समुदायमा स्थापित युवा नेता ‘टाइगर’ पूर्व गृहमन्त्री खुमबहादुर खड्का निकटका मानिन्थे । उनको प्रवेशसँगै भीरकोटमा आगामी निर्वाचनमा एमालेमय हुने संकेत देखिएको सचिव अर्यालले दावी गरिनन् । उनले भनिन्, ‘भीरकोटमा युवाहरुको प्रवेश लहरले आसन्न निर्वाचनमा एमालेको जित सुनिश्चित छ ।’ 

जिल्लाका ११ पालिकाका नेतृत्व मध्ये भीरकोट नगर कमिटीका अध्यक्ष विश्वनाथ अर्याल कान्छो पालिका कमिटी अध्यक्ष हुन् । उनी अनेरास्ववियुको राजनीति हुँदै पार्टी राजनीतिको नेतृत्वमा पुगेका हुन् । भीरकोटमा अर्यालले पार्टी नेतृत्व सम्हालेसँगैै एमालेको पार्टी र संगठन मजबुति बन्दै गएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा भीरकोटको मेयर अर्यालको समेत चर्चा छ ।