समाचार

स्याङ्जा, बैशाख २२ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) वालिङले घर घरमा एमाले उम्मेदवार, टोल टोलमा चुनावी सभालाई तीव्रता दिएको छ । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी वालिङको आयोजनामा एमालेका तर्फबाट वालिङ  नगरपालिकाका लागि प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्य पदका उम्मेदवारहरु सहितको टोली मतदाताको घर घरमा पुगेका हुन् । 


एमालेका तर्फबाट वालिङ नगरपालिकाका लागि मेयर पदका उम्मेदवार कृष्ण खाँण र उपमेयर पदका उम्मेदवार खगिसरा थापा सहितको टोलीले वालिङका १४ वटै वडाका टोल टोलमा पुगेर सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । उक्त टोलीले वालिङका २, ३, ४, ५, ६, ७, १२, १३, १४ नम्बर वडामा घरदैलो एवम् चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेका छन् । 

एमालेका तर्फबाट मेयर पदका प्रत्यासी कृष्ण खाँणले नागरिकले नयाँ अनुहार खोजेकाले आफूले निर्वाचन जित्ने बताए । खाँणले भने, ‘मतदाताले नयाँ व्यक्तिलाई नेतृत्व दिने मनासय पाए । सधै उही र पुरानालाई मत दिँदा गाउँ र ठाँउका लागि केही नभएको र नपाएको नागरिकको गुनासो छ ।’ यस पटक सूर्यमा मतदान गरी एमालेका उम्मेदवारहरुलाई विजयी गराउने वहाँको प्रतिबद्धता छ । 


यस्तै उपमेयरका प्रत्यासी खगिसरा थापा पनि आफू यसपालि निर्वाचित हुनेमा विश्वस्त छिन् । ‘प्राविधिक कारणले २०७४ उपविजेता बने । यसपालिको चुनावी महोल र पार्टीप्रति नागरिकको लहरले म ढुक्क छु,’ उनले भनिन्, ‘मतदाताले मेरो त्याग, समर्पण र निरन्तरतालाई सही मूल्यांकन गर्नुहुनेछ ।’ 

थापा गत स्थानीय तहको निर्वाचन २०७४ मा एमालेको तर्फबाट उपमेयर पदको उम्मेदवार थिइन् ।