समाचार

पछिल्लो समय साउने सक्रान्ती पर्वसँग जोडिएको तिउरी लगाउने परम्परा हराउँदै जान थालेको छ । बजारमा पाईने मेहन्दीले तिउरी परम्परालाई विस्थापित गरेको हो । तिउरी एक प्रकारको वनस्पति हो । असार साउनमा फुल्ने फूल तथा सौन्दर्यका लागी हातमा लगाईने र बगैचामा सजावटका लागी लगाईने वनस्पतीको रुपमा तिउरीलाई लिइन्छ । साउने सक्रन्तीको दिन बेलुका घरघरमा लुतो फाल्ने र हातभरी सौन्दर्यताका लागि तिउरी लगाउने परम्परा छ । 

तर, पछिल्लो समय आधुनिकीकरण तथा बढ्दो शहरीकरणले यस्ता परम्परा हराउँदै जान थालेका छन् । भीरकोट ५ की कृष्णकुमारी राना भन्छन्, ‘हाम्रा पालामा साउने सक्रान्तिमा दिनभरी तिउरी बटुल्ने र बेलुका तिउरीलाई कुटेर तिउरीको लेप हात तथा खुट्टामा लगाईन्थ्यो । आजभोलि बारेमा जानकारी समेत छैन् ।’ 

पराम्परागत रुपमा तिउरीको लेप हातमा लगाएर गाभा वा पातले छोपेर मुठ्ठी पारेर सुत्ने गरेका दिनहरु सम्झिँदै रानाले विगतका रमाइला कथन सुनाइन् । भोलिपल्ट कसको हातमा कत्तिको रातो बस्यो भनेर चर्चा गर्ने समेत उनले थपिन् । 

वालिङ ५ की धनमाया गुरुङले तिउरी लगाउने चलन कम हुँदै गएको बताइन् । गुरुङले भनिन्, ‘पहिला–पहिला दाजुभाई दिदीबहिनी सबै जम्मा भएर तिउरी लगाउने गरिन्थ्यो । यसले साउने सक्रान्ति पर्वमा रौनकता थपिन्थ्यो । ग्रामिण भेगमा तिउरी लगाउने परम्परामा पहिलाको जस्तो रौनकता छैन् ।’ साउने सक्रान्तिका दिन गाउँका दाजुभाईलाई तिउरी लगाएर तिज्यौरीको निधो गर्ने चलन समेत भएको उनको भनाई थियो । 

उनले थपिन् ‘साउने सक्रान्तीमा जंगलमा पाईने मकरकाजी भन्ने वनस्पतीमा तिउरी मिसाएर थिचेर राति हात, नङमा लगाइन्थ्यो । हात मुठी पारेर पातले छोपेर बाँधेर सुत्थ्यौँ र भोली पल्ट हातमा रातो तथा गुलाबी रंग आउँदा छुट्टै खुसी हुन्थ्यो ।’ 

तर, आजभोली बजारमा पाइने मेहेन्दीले हात रंगाउने गरिन्छ तर मेहेन्दी अन्य दिनहरुमा पनि लगाईने भएकाले तिउरीको महत्व विशेष रहेको गुरुङको दावी थियो । 

बजारमा आउने रेडिमेट मेहेन्दीको प्रयोगले आजभोलीका नयाँ पुस्तालाई तिउरीको बारेमा त्यति जानकारी छैन् । साउने सक्रान्तीका दिन तिउरी छुनै पर्छ भन्ने मान्यता समेत छ । मेहेन्दी अन्य पर्व तथा विभिन्न कार्यक्रमहरुमा लगाईने भएपनि तिउरी भने वर्षको एक दिन साउने सक्रान्ति अर्थात कर्कत सक्रान्तिमा मात्रै लगाईन्छ । 

हातलाई तिउरीले रंगाउँदा विभिन्न रोगबाट बच्न सकिन्छ भन्ने मान्यता रहिआएको छ । जेठ असार महिनामा धान रोपेर हिलोमैलो खेलेर हिलोले खाएका हातमा तिउरीको रस लगाउँदा हिलोले खाएर बनेको घाउलाई निको पार्न सहयोग गर्ने समेत जानकारहरु बताउँछन् । यसमा हुने एन्टिब्याक्टेरियले विभिन्न छाला सम्बन्धी रोगबाट बचाउनुका साथै हातलाई सुन्दर बनाउन पनि मद्दत गर्ने वनस्पति विज्ञहरु बताउँछन् । तिउरीको रस लगाउँदा यसले हिलोले खाएर बनेको घाउलाई निको पार्ने भएकाले पनि साउनमा तिउरी लगाउने परम्परा विज्ञानसंग जोडिएको मानिन्छ ।

तर आजभोलि लगाईने मेहेन्दीको भने प्राकृतिक एवम् आयुर्वेदिक औषधिको महत्वभन्दा पनि फेसनको शृङ्गारमा रूपान्तरण भएको महसुस गर्न सकिन्छ । तिउरी फूलको बिरुवाको विभिन्न भाग र विशेषगरी पातबाट निकालिएको जुस छाला सम्बन्धी रोग, पोलेको ठाउँ र सर्पको टोकाइमा प्रयोग गरिने वनस्पति विज्ञ बताउँछन् ।