समाचार

१३ साउन २०७९, स्याङ्जा । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आगामी संघ र प्रदेशसभा निर्वाचनको तयारीका लागि एमाले स्याङ्जाले भोलि (साउन १४) बृहत नेता कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । 

प्रशिक्षण कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलले विशेष प्रशिक्षण दिइने नेकपा  (एमाले) जिल्ला कमिटीका अध्यक्ष सूर्य प्रसाद गैह्रे ‘पारस’ले बताए । अध्यक्ष गैह्रेका अनुसार महासचिव पोखरेलले ‘वर्तमान राजनीतिक शक्ति सन्तुलन, पार्टीको भूमिका अभिवृद्धि र योजना’ बारे प्रशिक्षण दिइनेछ ।  पार्टी केन्द्रीय कमिटीका सचिव पद्मा कुमारी अर्यालले ‘जबजका मान्यताका आधारमा पार्टी निर्माण र परिचालन’ विषयमा प्रशिक्षण दिइनेछ । 

यस्तै पार्टीका अन्य प्रशिक्षकहरुले ‘पार्टी र जनप्रतिनिधि र समाजवादका आधारहरु’ लगायतका विषयहरुमा प्रशिक्षण दिइने नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाका सचिव राजेन्द्र डुम्रेले जानकारी दिए । 

प्रशिक्षण कार्यक्रममा स्याङ्जा प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु, पार्टी जिल्ला कमिटी सबै सदस्यहरु, जिल्ला भित्रका सबै जननिर्वाचित प्रतिनिधिहरु, निर्वतमान जिल्ला कमिटी र सल्लाहकार सबै सदस्यहरु, जिल्लाबाट केन्द्र र प्रदेशका प्रतिनिधित्व गर्ने सदस्यहरु, जनसंगठनका जिल्ला सचिवालय साथै पालिका पदाधिकारीहरु, पार्टी पालिका कमिटीका सचिवालय सदस्यहरु, पार्टी वार्ड कमिटीका अध्यक्षहरु, गत स्थानीय तह निर्वाचन वार्ड अध्यक्षका उम्मेदवाहरु सहित करिब ४ सय ५० जनाले भाग लिने एमाले स्याङ्जाले जनाएको छ ।