राजनीति

२० साउन २०७९, स्याङ्जा । नेपाल सरकारका पूर्वमन्त्री एवम् नेकपा (एमाले)का केन्द्रीय सचिव पद्मा कुमारी अर्यालले वर्तमान युग खोज र अनुसन्धानको भएको बताएकी छन् । शनिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित जिल्ला भरिबाट एसईई उतीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै पूर्वमन्त्री अर्यालले भनिन्, ‘जीवन र जगतलाई बुझ्न अध्ययनको दायरा फराकिलो बनाउनुस् । औपचारिक शिक्षाको परिणामले मात्रै जीवन सार्थक बन्दैन ।’ राजनीति कलेज, क्याम्पस र विश्वविद्यालय गएर नभई स्वःअध्ययनबाट हुने भएकाले अध्ययन गर्न कार्यक्रममा उपस्थित विद्याथीहरुलाई घुमाउरो पारामा उनले आग्रह गरिन् ।

विद्यार्थीहरुलाई भविष्यको कर्णधारको संज्ञा दिँदै पूर्वमन्त्री अर्यालले मुलुक चलाउने दक्ष शक्ति बन्न शुभकामना दिइन् । ‘आजको प्रतिस्पर्धा विश्वसँग हो । अमेरिका, जापान, बेलायतका विद्याथीहरुसँग हो,’ पूर्वमन्त्री अर्यालले भनिन्, ‘क्षणिक संगतको प्रतिफलले आफू, अभिभावक र राष्ट्रलाई धोका नहोस् ।’ यो उमेर रहर लाग्दो, भर लाग्दो र डर लाग्दो भएको बताउँदै गलत संगतबाट बच्न आग्रह गरिन् । 

देशको सच्चा राजनीतिकज्ञ, दार्शनिक, वैज्ञानिक, डाक्टर, इन्जियर आदि बन्न उनले प्रेरित गरिन् । स्वर्गीय वरिष्ट ठाक्टर उपेन्द्र देवकोटा, वरिष्ट डाक्टर भगवान कोइराला, नेपोलियन बोनापार्ट लगायका विशिष्ट व्यक्तिहरुलाई पनि सम्झिइन् ।