समाचार

७ भाद्र २०७९, वालिङ । वालिङ बहुमुखी क्याम्पसको विषयमा सामाजिक सञ्जाल, छापा सञ्चार माध्यम र अनलाइन न्यूज पोर्टलमा प्रकाशित समाचारबारे नेपाल प्राध्यापक संघ इकाई शाखा वालिङ बहुमुखी क्याम्पसले ध्यानाकर्षण जनाएको छ । 

सोमबार संघका अध्यक्ष याम बहादुर कुँवर, सदस्य पदमपानी काफ्ले र अमृतप्रसाद खनालद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘अतिरञ्जित रुपमा उठान गरिएका आरोपहरु, क्याम्पस प्रशासन र प्राध्यापकहरुलाई लगाइएका अवाञ्छित लाञ्छना र अमर्यादित गालीगलौज प्रति संघ आपत्ति रहेको छ ।’ शैक्षिक सत्र २०७९/०८० को भर्ना समय एवम् ‘क्यूएए’ वार्षिक पुनरावलोकनको समयमा मिडियामा प्रेषित भ्रामक विषयवस्तुले अनेकन संशय उत्पन्न भएको विज्ञाप्तिमा उल्लेख गरिएको छ । हाल भने क्याम्पसमा कक्षा ११ र स्नातक प्रथम वर्षको भर्ना चलिरहेको छ ।

‘कतै क्याम्पसको अविरल शैक्षिक यात्रामा गतिरोध ल्याउनका लागि गरिएको सुनियोजित प्रपञ्च त होइन ?’ विज्ञप्ति मार्फत संघले आशंका गरेका व्यक्त छन् । वालिङको गौरव र पहिचान बोकेको नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसको प्रगति देख्न नचाहने वाह्य र भित्री तत्व लागेको संघले आशंका गरेको छ । 

क्याम्पसको विधान र सञ्चालको समितिको निर्णय नै क्याम्पस सञ्चालनको मूल आधार रहने, संस्थाको उन्नति र प्रगतिका लागि अविचलित रुपमा प्राध्यापकहरु लागेका र लागिरहने विज्ञप्तिमा मार्फत संस्मरण गराएका छन् । 

मिडियामार्फत भ्रामक समाचार सम्प्रेषण गरेर नभई क्याम्पसका विषयमा राय–सुझाव वा छलफलमा सहभागि हुन आधिकारिक रुपमा आउनका लागि सम्बन्धित पक्षलाई संघले आग्रह गरेको छ । 

क्याम्पसको शैक्षिक वातावरणलाई धुमिल पार्न चाहने वाह्य र भित्री तत्वका प्रवृतिका विरुद्ध सम्पूर्ण प्राध्यापकहरु एकताबद्ध भएर सामना गर्ने अठोट गर्दै मिडियामा आएका भ्रामक समाचारप्रति सतर्क रहन र क्याम्पसको बृहत्तर हितका लागि अविचलित रुपमा एकताबद्ध भई अघि बढ्नका लागि क्याम्पस प्रशासन, प्रध्यापक, कर्मचारी, विद्यार्थी एवम् अभिभावकज्यूहरुमा समेत अपिल गरेका छन् । 

क्याम्पसमा कुनै पनि समस्या नरहेको र समस्या भएका खण्डमा वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने संघको जोड छ ।