समाचार

१० भाद्र २०७९, स्याङ्जा । वालिङ बहुमुखी क्याम्पसको विषयमा सामाजिक सञ्जाल, स्थानीय छापा पत्रिका र अनलाइन न्यूज पोर्टलहरुमा प्रकाशित समाचारबारे क्याम्पस सञ्चालक समिति र प्रशासनद्वारा ध्यानाकर्षण जनाएको छ । बिहीबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइराला र क्याम्पस प्रमुख सच्चिदानन्द यादवले छुट्टा प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पसबारे लगाइका आरोपहरु निराधार एवम् निन्दनीय भएको बताएका बताएका छन् । 

अध्यक्ष कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘४० वर्षे लामो इतिहास बोेकेको यस शैक्षिक संस्थामा साना मसिना समस्या देखिनु स्वभाविक हो । यस्ता केही समस्या र चुनौतीहरु निराकरणका लागि हामी निरन्तर प्रयासरत छौं ।’

सामाजिक सञ्जाल एवम् पत्रपत्रिकामा आएका विषयवस्तुप्रति भ्रममा नपर्न क्याम्पस सरोकारवाला समक्ष अनुरोध गर्दै क्याम्पसको बृहत्तर हित र विकासका लागि साथ र सहयोगको अपेक्षा अध्यक्ष कोइरालाद्वारा जारी विज्ञप्ति मार्फत गरिएको छ । 

यस्तै क्याम्पस प्रमुख सच्चिदानन्द यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा पनि क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारी र क्याम्पस सञ्चालक बारे लगाइका आरोपहरु निराधार एवम् निन्दनीय रहेका बताएका छन् । कपोलकल्पित आरोपहरुले क्याम्पस सञ्चालक, प्राध्यापक एवम् कर्मचारीहरुमाथि चोट पर्न गएको उल्लेख छ ।

पछिल्लो समय क्याम्पस सञ्चालक समितिकै एक सदस्यले क्याम्पसको आर्थिक अनियमितता, शैक्षिक अनियमितता र प्राध्यापकहरुबारे सामाजिक सञ्जालमा लेख्दै आएका छन् ।