समाचार

१६ भाद्र २०७९, स्याङ्जा । भगवान, ‘सिद्धार्थ राजमार्ग हिलाम्मे र धुलाम्मे कहिलेसम्म ?’ यो प्रश्न वालिङवासीको मात्रै होइन, सिद्धार्थ राजमार्ग हुदै यात्रा गर्ने हजारौं यात्रीहरुको साझा प्रश्न हो । 

घाम लाग्दा धुलो, पानी पर्दा हिलो ! हिलाम्मे र धुलाम्मे सास्ती र कष्टकर यात्रा निरन्तर चलिरहेछ । नगरवासीको पीडा, सडक यात्रु र पैदालयात्रीले खेप्नुपरेका सास्तीबारे संघ, प्रदेश र स्थानीय सरकार बेखबर छ । संघियतापछि दोस्रो पटक स्थानीय सरकार पाएका नगरवासीले सधै एउटै प्रश्न गरिरहेका छन्, ‘सिद्धार्थ राजमार्ग हिलाम्मे र धुलाम्मे कहिलेसम्म ?’

वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण र जिल्लाका क्रियाशिल पत्रकारहरुबीच बुधबार भेटघाट सम्पन्न भएको छ । नगर प्रमुख खाँणको आयोजनामा खाँणकै कार्यकक्षमा गरिएको भेटघाट कार्यक्रममा वालिङका केही पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रम औपचारिक र ठोस अजेण्डमा नभएपनि वालिङका बारे पत्रकारहरुसँग राय, सल्लाह र सुझाव लिने थियो । 

भेटमा वर्षौंदेखि वालिङवासीले उठाउदै आएका एउटैं प्रश्नले बढी महत्व पायो, मेयरसाब–‘सिद्धार्थ राजमार्ग हिलाम्मे र धुलाम्मे कहिलेसम्म ?’ अधिकांश पत्रकारहरुले यही प्रश्नलाई दोहो¥याएको पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्दलले बताए । अध्यक्ष सिग्देलले सौर्य न्यूजसँग भने, ‘हामी गम्भीरतापूर्वक सिद्धार्थ राजमार्गको अवस्था बारे जिज्ञासा र प्रश्न ग¥यौं । वहाँ (मेयर)ले चासो लिनुभयो ।’

यस्तै वालिङ बहुमुखी क्याम्पसको पछिल्लो घट्ना बारे, नगरका सामुदायिक विद्यालयमा राजनीतिक अखडा, कार्यकर्ता भर्ती–भर्ना, पूर्णमृत भवानी माध्यमिक विद्यालय, वालिङ रंगशाला, आँधीखोला दोहन, नगरभित्रका सरकारी कार्यालयको बेथिति र सार्वजनिक सम्पत्तिको पहिचान तथा संरक्षण बारे नगरप्रमुख समक्ष प्रश्न गरेको उनले बताए ।

सो अवसरमा नगर प्रमुख खाँणले वालिङ छवि र शानलाई जोगाउन सबैको दायित्व रहेको बताए । संस्थापक जनप्रतिनिधिदेखि निवर्तमान जनप्रतिनिधि लगायतको महत्वपूर्ण हुनेमा जोड दिए । जनप्रतिनिधि सबैको साझा रहेको भन्दै संकुचित सोँचलाई त्यागेर सोँच फराकिलो बनाएर काम गर्ने दायित्व जनप्रतिनिधिको रहेको उनको भनाई छ ।