समाचार

२३ भाद्र २०७९, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बित गरेको छ । क्यानको कार्यसम्पादन समितिको निर्णय अनुसार कप्तान लामिछानेलाई निलम्बन गरिएको हो । 

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरिएको छ ।’

लामिछानेलाई एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा मुद्धा दर्ता भएको छ । उनी भने देश बाहिर छन् ।