राजनीति

२४ असोज २०७९, स्याङ्जा । संघीय तथा प्रदेश निर्वाचन क्षेत्र नम्बर २ स्याङ्जामा धनराज गुरुङको उम्मेदवारीले खैलाबैला मच्चिएको छ । नेपाली काँग्रेसका केन्द्रीय कार्य समितिका उपसभापति समेत रहेका गुरुङको उम्मेदवारीले कतै बागी, कतै पार्टी छोडेर जाने त कतै पर्यटक उम्मेदवार भन्दै कार्यकर्तामा चरम अनसन्तुष्टि देखिएको छ । धनराजकै कारण गठबन्धन अलपत्रमा पार्ने काम भएको छ । गठबन्धनले स्याङ्जा २ (क)मा नेकपा एकीकृत समाजवादीलाई दिएको भए पनि काँग्रेसले भोजराज अर्याललाई उठाएको छ । 

उता काँग्रेस भित्रको असन्तुष्टि छताछुल्ल भएको छ । काँग्रेस भित्रका पुराना नेता ढाल बहादुर पाण्डे (नविन)ले धनराज गुरुङको उम्मेदवारी विरुद्ध बागी (स्वतन्त्र) उम्मेदवारी दर्ता गराएका छन् । 

त्यसैगरी काँग्रेस स्याङ्जाका संस्थापक एवम् २०७४ को स्थानीय तह निर्वाचनमा गल्याङ नगरपालिकाका प्रमुख (मेयर) पदका उम्मेदवार लालगोपाल अर्याल काँगे्रस परित्याग गरी राप्रपाका तर्फबाट संघका लागि उम्मेदवार बनेका छन् । 

काँग्रेसका पुराना नेता सागर गैह्रेले प्रदेश २ (क)मा उम्मेदवारी हालेका छन् । उनी साविक तीनदोबाटे गाविसका पूर्व उपाध्याक्ष हुन् । 

गल्याङका लोकतान्त्रिक आन्दोलका नेता, समाजसेवी शिक्षाबिद कमल डुम्रे राप्रपा प्रवेश गरेर प्रदेशमा उम्मेदवारी दिएका छन् । 

काँग्रेस पृष्ठभूमिका युवा सागर ढकाल र चिरन्जीवी पाण्डेयले स्वतन्त्रमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् ।

वालिङ, कालीगण्डकी र चापाकोटबाट काँग्रेका नेताहरुको स्वतन्त्र उम्मेदवारीले धनराजको गुरुङको चुनावी यात्रा सहज नदेखिने अनुमान गरिएको छ । 

उता समाजवादीका तर्फबाट रामचन्द्र भट्टराईले पनि उम्मेदवारी दर्ता गराएका छन् । आफूले गठबन्धनबाटै उम्मेदवारी दर्ता गराएका बताए । उनले भने, ‘गठबन्धनको आधिकारिक उम्मेदवार मै हुँ । गठबन्धनका शिर्ष नेताहरुको निर्णय र निर्देशनले मैले उम्मेदवार दर्ता गरेका हुँ ।’ उनले माधव कुमार नेपालको ठाडो आदेशमा उम्मेदवार दर्ता गरेको बुझिएको छ । तर, स्याङ्जाका दुवै क्षेत्रमा काँग्रेसले उम्मेदवारी दर्ता गराएपछि स्याङ्जामा गठबन्धन अलपत्रमा परेका छन् ।