समाचार

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र र संविधान खतरामा रहेको बताएका छन् । सोमबार स्याङ्जामा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले गठबन्धन सरकारले देशको सार्वभौम र नागरिकको रक्षा गर्न नसकेको दाबी गरे । 

स्वार्थहरुको गडजोडबाट बनेको सरकारले आफूहरुको स्वार्थ बाहेक केही नदेखेको ओलीले आरोप लगाए । उनले भने, ‘वर्तमान सरकार सातुको डल्लो हो । मंसिर ४ गते डल्लो भस्याकभुसुक हुन्छ ।’ १५/१६ महिनाका लागि बनेको सरकारसँग समृद्धिको कुनै अजेण्डा नरहेको बताए । 

देश र नागरिरको भविष्यका लागि बलियो राष्ट्रिय शाक्तिको आवश्यक रहेको उल्लेख गर्दै मंसिर ४ पछि एमाले बन्ने ओलीले ठोकुवा गरे । ‘समृद्ध नेपाल–सुखी नेपाली’का लागि एमालेलाई नागरिकको स्पष्ट म्याण्डेट दिने समेत उनले दावी गरे । ‘एमाले कुनै ताज पहिराउन होइन, देश बनाउन र विकास गर्न चाहन्छ,’ ओलीले जिकिर गरे ।

एमालेसँग छुट्टाछुट्टै चुनाव लड्ने हिम्मत नभएकाले सटरमा गठबन्धन नामक खुद्रा पसल खोलेको आरोप लगाए । परमादेशको आर्शिवादले बनेका सरकारले मुलुकलाई श्रीलंकाको दिशामा अगाडि बढाएको बताउदै देशको हितका लागि नेकपा (एमाले)को सुदृढ सरकार आवश्यक रहेको ओलीले स्पष्ट पारे ।