राजनीति

स्याङ्जा । नेपाली कांग्रेसले स्याङ्जा २ का ४ मतदान केन्द्रमा रहेका ६ बुथमा धाँधली गरेको भन्दै एमाले लगायत अन्य दलका उम्मेदवारले निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिएका छन् । 
चापाकोट नगरपालिका ३ मा रहेका दिसिङकोट आधारभूत विद्यालय कमेरे मतदान केन्द्रका बुथ ‘क’ र ‘ख’, ४ मा रहेका राममन्दिर माध्यमिक विद्यालय दार्सिङ नरसेवा मतदान केन्द्रका ‘क’ र ‘ख’ बुथ कब्जा गरी फर्जी मत हालेको उजुरी उल्लेख छ । 

यस्तै वडा नम्बर ५ का जनसक्रिय माध्यमिक विद्यालय चिठीपोखरी र दिनदयाल आधारभूत विद्यालय साठीमुरे मतदान केन्द्रमा रहेका बुथ पनि कब्जा गरी मत हालेको उजुरी उल्लेख छ । 
अनधिकृत रुपमा बुथ कब्जा गरी अन्य दलका प्रतिनिधिहरुलाई बाहिर निकालिएको भन्दै एमाले लगायतका दलहरुका उम्मेदवारहरुले स्वतन्त्र रुपमा विज्ञप्ति निकालेका हुन् । कब्जा गरी फर्जी मत हालेका बुथहरुमा पुनः मतदानको माग गरिएको छ । 

कमेरे मतदान केन्द्रमा कुल १६४१ मतदाता रहेकोमा १५६० मत खसेका छन् । दार्सिङ नरसेवामा कुल १४६६ मतदाता रहेकोमा १४३८, चिठीपोखरीमा ९९१ मतदाता रहेकोमा ८९१ र साठीमुरेमा ४६९ मा ४६० मत गरी ४ हजार ३५५ मत बुथ कब्जा गरी फर्जी मत हालेको विज्ञप्तिमा उल्लेख छ । 

स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र शर्मा पौडेलले धाँधली गरिएको भन्द्र उजुरी परेको जानकारी सौर्य न्यूज दिए । 

उता, नेकपा (एमाले) स्याङ्जाका सचिव राजेन्द्र डुम्रेले कब्जा गरिएका बुथहरु पुनः मतदान हुनुपर्ने बताए । पुनः मतदान नभए एमाले स्याङ्जाले आन्दोलनका कार्यक्रमहरु घोषण गर्ने बताए ।

स्याङ्जा २ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ, एमाले केन्द्रीय सचिव पद्मा अर्याल, राप्रपाका लालगोपाल अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।