फोटो फिचर

शिशिर ऋतु आउन अझै एक महिना छ । हिमाल लर्कनहरु खुल्न थालेका छन् । फाँटहरुमा हुस्सुको बास, पहाडका टकुरामा कुइरोको घेरो । मौसम चिसो र तातो दुवै हैन ! कस्तो मण्डले पाराको मौसम । 

नेपालको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको जिल्ला हो, स्याङ्जा । प्राकृतिक मनोरम दृश्य र वातावरण, साहसिक पर्यटन र साँस्कृतिक पर्यटनको गन्तव्यको रुपमा स्याङ्जालाई विश्वमै चिनाउन सकिन्छ । स्वरेक महापुर मैदान, कालीगण्डकी ‘ए’, जलविद्युत परियोजना, सेतीवेणी, राणाहरुको कुल्यान आलमदेवी, इष्टदेवी गह्रौंकालिका, सतौंचण्डी थान, नुवाकोट दरबार, कालीगण्डकी, आँधीखोला लगायत प्राकृतिक मनोरम स्थल, ऐतिहासिक, धार्मिक र साँस्कृतिक स्थलहरु स्याङ्जाका प्रतिनिधि गन्तव्य हुन् । 

स्वरेक महापुर मैदान
साहसिक खेल प्याराग्लाईडिङका लागि विश्वकै उत्कृष्ट गन्तव्य हो, स्वरेक महापुर मैदान । भिरकोट नगरपालिका–५ मा पर्दछ । समुन्द्री सतहबाट करिब एक हजार छ सय मिटर उचाईमा रहेको छ । महापुर मैदान र सिरकोटमा मैदान करिब सात÷आठ वर्ष पहिले प्याराग्लाईडिङ परीक्षण उडान भरेको थियो । सन् २०१४ देखि बाबु एड्भेन्चर्स प्रालिद्वारा व्यवसायिक रुपमा प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याए । द बाबु एडभेन्चर इन्टरनेशनल स्कुल दक्षिण एसियाकै पहिलो प्याराग्लाईडिङ स्कुल हो । नेपाल प्याराग्लाईडिङ तथा ह्याङ्ग्लाईडिङ संघ, हवाइ खेलकुद संस्था र बाबु एडभेन्चर क्लबको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको व्यवस्थापनमा अगामी कार्तिक १५ देखि १८ सम्म ‘फस्र्ट नेपाल प्याराग्लाईडिङ एक्युरेसी विश्व कप–२०१८’ को आयोजना गरिएको छ । स्वरेक महापुर मैदान मनोरम दृश्यवलोकन, प्याराग्लाईडिङ र बनभोज स्थलका उत्कृष्ट गन्तव्य हो । स्वरेक लगायत मन्साङ्कोट, सतौं, हुनिकोट, खिलुङ, पेल्काचौर, सिर्सेकोट लगायतका ठाउँबाट प्याराग्लाईडिङ गर्न सकिन्छ । स्वरेक वालिङ जैसीपँधेरा स्वरेक १० किलोमिटर । कार, महेन्द्र जीपमा, मोटरसाइकलमा जान सकिन्छ । सवारी साधनमा करिब एक घण्टा लाग्छ । पैदल यात्रा दुई घण्टा । यसैगरी बयाँरघारी स्वरेक करिब १० किमि । कार, महेन्द्र जीपमा, मोटरसाइकल जान्छ । सवारी साधनमा ४५ मिनेट । पैदाल डेढ घण्टा । 

सिरुबारी
नेपालको पहिलो ग्रामीण पर्यटन गाउँ हो, सिरुबारी । गाउँ पर्यटन र घरबास कार्यक्रम दक्षिण एसियाकै पहिलो हो । नमुना पनि । यो गाउँ विशुद्घ गुरुङ हो । यो आँधीखोला गाउँपालिका–१ मा पर्दछ । समुन्द्री सतहदेखि करिब एक हजार ६ सय १० मिटर उचाईमा अवस्थित छ । सिरुबारीमा ३९ वटा घरहरु छन् । १७ वटामा घरबास (होमस्टे) बनाएका छन् । घरबास कार्यक्रम स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको अगुवामा २०५४ सालमा स्थापना भएको हो । 

गाउँको परिचय त्यहाँको मौलिक घरहरुबाट पाउन सकिन्छ । संस्कार, संस्कृति र रहनसहन विशुद्घ मौलिक पाइन्छ । गाउँलाई अवलोकन गर्न भ्यू टावर बनाएको छ । भ्यू टावरबाट सिरुबारी हेर्न सकिन्छ । गाउँको गोरुजुरे डाँडाबाट धौलगिरी, अन्नपूर्ण, माछापुच्छ«े लगायतका दर्जनौं हिमश्रृङ्खला सकिन्छ । गाउँ नजिककै बनभोज स्थल पनि छन् । होमस्टेमा जाने पाहुनाले साँझ रोधीँमा नाच्न, गाउँन र रमाउन सकिन्छ । 

होमस्टे काठमाण्डौ–पोखरा २०० किमि । पोखरा–स्याङजा नौडाँडा–सेतीदोभान–कार्कीनेटा–सिरुबारी ६४ किमि । मिनी बस, महेन्द्र जीप र मोटर साइकल जान्छ । पैदालका लागि सेतीदोभान–भुज्रुङखोला–सिरुबारी करिब ७ घण्टा लाग्छ । 

पित्लेक देउराली
अर्गानिक होमस्टे पित्लेक देउराली । वालिङ नगरपालिका–५ मा पर्दछ । पित्लेक, आरुपाट र पाँडेथोक टोल मिलेर पित्लेक देउराली होमस्टे बनाएका हुन् । २०६९ सालमा महेश गुरुङको अगुवाईमा होमस्टे स्थापना भएको हो । समुन्द्री सतहबाट एक हजार पाँच सय मिटर उचाईमा पर्दछ । पित्लेक डाँडामा भ्यू टावर छ । भ्यू टावरबाट वालिङ, रामबाच्छा, खहरे लगायतका बजार हेर्न मिल्छ । धौलगिरी, माछापुच्छ«े अन्नपूर्ण लगायतका हिमालका लर्कनहरु झनै । 

होमस्टेको विशेषता अर्गानिक स्वाद हो । कफी, गोलभेँडा, लोकल कुखुरा, खसी, बोका र मह पाइन्छ । हनी हर्भेष्टिङ अर्को विशेषता हो । गुरुङ संस्कृतिको मौलिक स्वाद पाइन्छ । झोरा प्रमुख हो । अरुपाटा सोलार लिफ्टिङ, पित्लेक खहरे ग्राभिटी रोप वे, द्वार भञ्ज्याङ त्यहाँको पहिचान हो । 

होमस्टे काठ्माण्डौ २०० किमि । पोखरा ६० किमि । मिर्दी, पाँडेथोक, पित्लेक हुदै ५ किमि । मिर्दी, जगतभञ्ज्याङ ११ किमि । वालिङ–मिर्दीदेखि महेन्द्र जीप र मोटर साइकल जान्छ । मिर्दी जगत सम्म सार्वजनिक बस चल्छ । जगतबाट पैदाल यात्रा सावा घण्टा । लालुपातेबाट करिब दुई घण्टा । 

सुन्तलबारी 
सुन्तलाको बगैंचाबाट सुन्तलाबारी होमस्टे बनेको हो । सुन्तलाबारीमा साना ठूला गरी १६ हजार सुन्तलाका बोटबिरुवा छन् । त्यसैले सुन्तलाबारी होमस्टे बनाएको हो । यो वालिङनगरपालिका–४ खाल्टेमा पर्दछ । समुन्द्री सतहबाट एक हजार १ सय ८५ मिटर उचाईमा अवस्थित छ । गाउँमा ३२ घर छन् । १५ घरमा होमस्टे गराइन्छ । सुन्तला सिजन पर्यटकहरुका लागि विशेष सिजन हो । सुन्तला र सुन्तलाबाट बनेका विभिन्न जुसहरु खान पाइन्छ ।

२०६९ सालमा क्याप्टेन डिल बिक्रम गुरुङको नेतृत्वमा होमस्टे स्थापना भएको हो । सदाबहार लोकदोहोरी गायिका शर्मिला गुरुङ र सालैजोका बादशाह राजु गुरुङको जन्मस्थल हो, सुन्तलाबारी । सालैजो, झ्याउरे र सोरठी सुन्तलाबारीको संस्कृति हो । साहसिक खेल क्यानोनिङ, खाल्टे, हेवन, कान्छी मनकामना हाइकिङ गर्न सकिन्छ । होमस्टेमा काठमाण्डौ–पोखरा २०० किमि । पोखराबाट ५७ किमि । सिद्दार्थराजमाग रामबाच्छा ८ किमि । महेन्द्र जीप र मोटर साइकलमा जान्छ । पैदाल यात्रा २ घण्टा लाग्छ । 

बाहुनथान–खाँणदेवी
बाहुनथानमा खाँणदेवी मन्दिर थियो । मन्दिरको पुजारी, उम्रा गैह्रे जैसी बाहुन थिए । खाँणदेवीमा जैसी बाहुनले पुजाआजा गर्ने भएकाले बाहुनले पुजा गर्ने ठाँउ हुदै अपभ्रंस भएर बाहुनथान भएको पाइन्छ । २२ से  २४ से राज्यका राजा हिक्मत बहादुर खाँणकी श्रीमतीले प्रजा अर्थात जनताका लागि गौचर अभाव देखिन् । गौचरन बनाउन बाहुनथान क्षेत्रमा नुन छर्किन । पछि गौचरनका लागि गैह्रे बाहुनहरुलाई दिइन् । 

वालिङको प्रमुख पर्यटकीय सम्भावना बोकेको ठाउँ हो, बाहुनथान । यो वालिङ नगरपालिका–११ मा पर्दछ । स्वर्गको नेपथ्यको रुपमा बाहुनथानको परिचय बनेको छ । वालिङको दोस्रो भ्यू टावर भनेर बाहुनथानलाई चिनिन्छ । बाहुनथान रक गार्डेन, मनोरम दृश्यवलोकन र बनभोजका लागि विशेष गन्तव्य बन्दै गएको छ । स्थानीय सरकारले सार्वजनिक जग्गामा हर्बल प्लान्ट बनाउने लक्ष्य सहित पतञ्जलीले डिपिआर गरेको छ ।

वालिङ बाहुनथान करिब ६ किमि । महेन्द्र जीप, मोटरसाइकल जान्छ । भुम्रे राउतडाँडा करिब एक किमि । पैदाल करिब एक घण्टा । 

गह्रौंसुर
शाहवंशीयहरुको इष्टदेवी भनेर गह्रौंकालिकालाई चिनिन्छ । यो वालिङ नगरपालिका–८, १० र गल्याङ ११ मा पर्दछ । गहौंसुरमा गह्रौंकालिका मन्दिर अवस्थित छ । गह्रौंसुर क्षेत्र साँस्कृतिक, धार्मिक, ऐतिहासिक र प्राकृतिक विविधायुक्त क्षेत्रका रुपमा प्रसिद्घ छ । गह्रौंसुरमा गह्रौं राज्यका खाँड÷खाँण राजाहरुे युद्दका लागि बनाएका किल्ला, गौंडा तथा गढीहरु अझै देख्न पाइन्छ । गह्रौराज्ये पूर्वमा भीरकोट, पश्चिममा रिडी, उत्तरमा पैञ्यु, दक्षिणमा पाल्पा सम्म फैलिएको शक्तिशाली राज्य थियो । 

समुन्दी सतहबाट करिब १७ सय उचाईमा अवस्थित छ । स्याङजा, पाल्पा, पर्वत, गुल्मी, कास्की लगायत जिल्लाका भू–भागहरु, हरिया फाँटहरु, कालीगण्डकी, आँधीखोला, लगायत विभिन्न साना ठुला गरी लगभग १०० बढी बढि खहरे तथा खोलाहरु, अग्ला पहाडहरु, खोँचहरु, विभिन्न गुफाहरु, हिमालका दृश्यवलोकन गर्न सकिन्छ । 
गह्रौंसुर क्षेत्र चारैतिर जंगलले घेरिएको छ । जंगलमा बाघ, स्याल, चितुवा, मृग, दुम्सी, लगायतका वन्यजन्तुहरु र धेरै प्रजाति चराचुरुङ्गीहरु पाइन्छ । धार्मिक पर्यटनको सम्भावना बोकेको गह्रौंसुरको ऐतिहासिक पहिचान छुट्टैछ । चण्डी र कालीलाई पञ्चवली दिन चलन छ । भगवतीलाई पुजा अर्चना । औंसी, एकादशी चौथी बलि पुजा हुदैन । गह्रौंसुरमा विशेषगरी वडा दशैं र चैतै दशैंमा मेला लाग्दछ । वालिङ गह्रौंसुर ९ किमि । महेन्द्रजीप, कार र मोटरसाइकल जान्छ । काफलडाँडा सम्म मिनीबस । पैदाल यात्रा करिब ३ घण्टा । 

आलमदेवी
स्याङजाको सुदूरमा आलमदेवी पर्दछ । भूमि पवित्र छ । दक्षिणमा काली नागवेलीमा बगिरहेछ । रानीमहलले आलमवासीलाई बोलाइरहेछ । तर, कालीको चिच्याहटले आलमवासी रानीमहलको निमन्त्रण सुन्न पाउँदैन । पाल्पा श्रीनगर डाँडाको बतासले आलमदेवीलाई गिज्याइरहेछ । तर आलमदेवी अडिड छिन् । भिमसेन पातीको फेदमा विश्राम गरिरहेछ । कालीले तीन तिरबाट घेरेकी छिन् । हेर्दा लाग्छ, आलम कालीकी मात्र । वैघा, विर्घा र कोटाकोटाको शिर हो, आलदेवी ।
वेगमाता वेगेश्वरी भिमसेन पातीको फेदबाट अलप भईन् । अलप देवी कालीगंगाको जलमा स्नान र शालग्रामको पवित्रता प्राप्त गरी पुनः भिमसेन पातीको फेदमा विराजमान अर्थात देखिन्, आइन् । भिमसेन पातीको रुखबाट अलप भएकोले वेगमाता वेगेश्वरीलाई अपल देवी भन्न थलियो । अलप देवी भन्दा भन्दै अपभ्रंश भएर आलमदेवी बन्न पुगिन् ।  
 
वेगमाता वेगेश्वरी देवी अत्यन्त सक्रिय देवी माता हुन् । उहाँलाई वैदिक विधि अनुसार अष्ट मात्रीकाको रुपमा जागरण गराइएको हुनाले सबै मानवलाई आफ्नै सन्तान सरह माया र आशिर्वाद दिनुहुन्छ । अष्ट सिद्धि मध्येका ‘प्राकाम्य’ को अनुष्ठान भएकोले दर्शनार्थीहरुलाई निरोगी, भाकल एवम् इच्छाएको वरदान माग्दा पुग्ने र आयु समेत लम्बिन सकिने वरदान माग्दा पुग्ने वरदान प्राप्त गर्न सकिन्छ । मन्दिरमा सोह्र श्रद्घा बाहेक अन्य समयमा पुजा अर्चना हुन्छ । 
काठमाण्डौं–स्याङजा मिर्मि ३ सय ५ पाँच किमि । गल्याङ–मिर्मि २२ किमि । मिर्मि–आलमदेवी १२ किमि । काठमाण्डौं–मिर्मि रात्री बस सेवा पाइन्छ । पोखरा, बुटवलबाट दैनिक मिनीबस चल्छ । गल्याङ जिरोबाट महेन्द्र जीपमा पनि जान सकिन्छ । 

सतौंचण्डी
सतौं स्याङ्जा जिल्लाकै प्रसिद्घ धार्मिक गन्तव्य मध्ये एक हो । सतौंमा चण्डीदेवी, कालिकादेवी र पशुपतिनाथको पुजा गरिन्छ । चण्डी, कालिका र पशुपतिनाथ मन्दिरको उत्तर भागमा सतौंकोटे राजाले बनाएको कोटघर छ । दरबारको भाग्नावशेष र गद्दी बैठक पनि ।

स्याङ्जाका २४ से राज्यहरु मध्ये सबैभन्दा शक्तिशाली राज्य सतौंकोट थिए । प्राचीन सतौं राज्यभित्र दरौं, पञ्चमूल, अर्जुनचौपारी, सातुपसल, लामागे र सतौंगाउँ फापरथुम पर्दछन् । शिरम्बु खाँण, अदप खाँण, मैपति खाँण, चामु शाही, तुला शाही, बहादुर शाही, छत्रशाही, पृथ्वीपति शाही, डवनल शाही, चामु शाही राजा थिए । सतौँका पहिलो राजा शिरम्बु खाँण हुन् । दीर्घनारायण शाही अन्तिम राजा । पृथ्वीनारायण शाहले राज्य एकिकरण क्रममा हार व्यहोरेको एक मात्र राज्य हो, सतांैकोट । सतौंकोट युद्दमा पृथ्वीनारायण शाहका दाहिने हात मानिने गोर्खा राज्यका सेनापति केहारसिहं बस्न्यात मारिएका थिए । युद्दमा वंशीराज पाण्डे थर गरेका एक जना चौतारिया नजरबन्दमा परेका थिए । 

सतौंकोटमा युद्द हुँदा वैरीहरुको रगतबाट वैरीखोला बनेको किवंदन्ती पाइन्छ । अहिले वैरी खोलाबाट अप्रभंम्स भएर वैदीखोला भन्छन् । सतौंकोट देखि चण्डी थान मन्दिर सम्म सैनिक परिसर थियो । परिसरमा शैन्य भाग्नावशेषहरु देख्न पाइन्छ । सतौंकोटे राजाको इष्टदेवीको रुपमा सतौंचण्डी र कालिकालाई लिइन्छ । राजा दीर्घराज शाहीले चण्डीकालिका मन्दिरका लागि ५० मुरी खेत लामागे सातुपसल फाँटमा गुठी राखेका थिए । ब्राम्हणका लागि १५ मुरी, नगर्चीका लागि ५० मुरी, कटुवालका लागि ५० मुरी र मन्दिरमा पूजाका लागि ५० मुरी पनि गुठी राखेका थिए । हाल गुठीको क्षेत्रफल करिब ५ सय रोपनी छ । गुठी प्रचलन अझै पनि छ । सतौंको धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका स्थलहरुको संरक्षण, प्रवर्धन र प्रचारप्रसारका लागि पुतलीबजार नगरपालिकाले सतौं गुरुयोजना बनाएका छन् । 

सतौंमा नरवली दिने प्रचलन थियो भन्ने किंवदन्ती पाइन्छ । हाल पञ्चवली मात्र दिएको पाइन्छ । विशेषगरी वडा दशैं र चैते दशैमा भक्तजनहरुको उल्लेख्य सहभागिता हुन्छ ।

 पञ्चासे पञ्चधाम
चारधाम पछिको पाँचौ धाम पञ्चासे धाम हो । पञ्चासेलाई सिद्घ स्थलको रुपमा चिनिन्छ । जैविक विविधताको दृष्टिले गण्डकी प्रदेशकै उत्कृष्ट स्थलको रुपमा पर्दछ । पञ्चासे पञ्चधाममा एउटा पोखरी रहेको छ । पोखरीमा झरेका पातहरु चराहरुले टिपेर सफा राख्ने जनश्रृति पाइन्छ । 

पञ्चधाममा भगवान शिवसँग सम्बन्धित सबै पर्वहरुमा मेला लाग्दछ । विशेषगरी महाशिवरात्री, बालाचुर्तदर्शी, साउन महिनामा विशेषगरी शिव भक्तहरु दर्शनका लागि जान्छन् । पञ्चासेको बनमा विभिन्न प्रजातिका लालीगुराँस, सुनखरी, चिराइतो, पाँचऔले लगायतका जडीबुटी पाइन्छ । हाइकिङ, ट्रेकिङ, हिमाल दृश्यवलोकन, योगा र ध्यानका लागि अति उपयुक्त क्षेत्र हो, पञ्चधाम ।