समाचार

वालिङ । देशकै जेठो पब्लिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काँग्रेस निकट नेपाल विद्यार्थी संघ उम्मेदवार विजयी भएका छन् । नेविसंघबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका सन्दिप कँडेल ४ सय ५६ मतका साथ विजयी भए । उनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका तर्फबाट अध्यक्ष पदका प्रत्यासी उम्मेदवार मिलन बहादुर अर्याललाई हराएका हुन् । अर्यालले २ सय ९२ मत ल्याए । 

यो जितसँगै कँडेलले अनेरास्ववियुको करिब ४ दशक लामो विरासतलाई तोडेका छन् । कुल १ हजार २३ मतदाता रहेको क्याम्पसका ७ सय ६६ मत खसेको थियो । 

सचिवमा नेविसंघ राजिन कुँवर ४ सय ५८ मत सहित विजयी भए भने उनका प्रतिद्वन्दी अनेरास्ववियुका सुशान्त श्रेष्ठले २ सय ८३ मत ल्याए । 

कोषाध्यक्षमा पनि नेविसंघकै सुमना लामिछानेले ४ सय ५४ मत सहित विजयी हुँदा अनेरास्ववियुकी बिना रेग्मीले २ सय ७१ मत ल्याइन् । 

यस्तै सदस्यहरुमा अस्विन कुमार रेग्मी ४ सय ५४, बादल लामिछाने ४ सय ५१, ओम प्रसाद गुरुङ ४ सय ४०, डिला डाला मगर ४ सय ४८, आकृति पाण्डे ४ सय ४२ र सविना सुनारले ४ सय ४४ मत ल्याएर विजयी भए । उनीहरु सबै नेविसंघबाट चुनावी मैदानमा उत्रिएका थिए । 

अर्का एक सदस्यमा अनेरास्ववियु क्रान्तिकारीकी डिला भुषाल ३ सय ६८ मत ल्याएर विजयी भइन् । 

अनेरास्ववियुबाट सदस्य पदमा उम्मेदवारी दिइएका नीर बहादुर सार्की  २ सय ४३, बसन्त भुषाल २ सय ७८, विपुल डुम्रे २ सय ५५, सन्दित घर्ती २ सय ४०, आयुष्मा काफ्ले १ सय ६१ र ओम बहादुर कुमाल १ सय २४ मत ल्याए ।