समाचार

पोखरा, असोज २१ । नौडाँडामा फिल्म समीक्षा कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ, कास्की शाखाद्वारा फिल्म पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि आयोजित कार्यशाला बुधबार सकिएको हो । 

पत्रकारहरुको फिल्म समीक्षा लेखनमा वृद्धि विकास गराउनु कार्यशालाको मुख्य उद्धेश्य रहेको थियो । 

कार्यक्रममा फिल्म नेपाली फिल्मका लेखक राजेश गोंगजु, नेपाली फिल्मका समीक्षक दीपेन्द्र लामा र कला पत्रकार सामीप्यराज तिमल्सेना स्रोत व्यक्तिका रुपमा रहेका थिए । फिल्म हेर्ने, बुझ्ने र समीक्षा लेख्ने  कसरी ? भन्ने बारे कार्यशालाका स्रोत व्यक्तिहरुले आफुहरुको अनुभव आदानप्रदान गरे । 

कार्यशालामा प्रशिक्षक गोंगजुले हलिउड, बलिउड र कलिउड फिल्म बारे समीक्षा गरे । फिल्म व्यवसाय नभई कलाको रुपमा बुझ्न प्रशिक्षक गोंगजुले आग्रह गरे । फिल्म समीक्षाका लागि हरेक खाले फिल्मको अध्ययन, अनुसन्धान र हेर्नुमा पर्नेका उनले जोड गरे । कार्यशालामा कोरियन फिल्म ‘बर्निङ’को प्रर्दशन सहित समीक्षा गरियो । 

‘के हो फिल्म पत्रकारिता र को हो फिल्म पत्रकार’ बारे प्रशिक्षक सामीप्यराज तिमल्सेनाले सहजीकरण गरे । फिल्म पत्रकारिता पर्चाकारिता र फिल्म पत्रकार अल्पत्रकारको रुपमा समाजमा उदाएको भन्दै व्यङग्य समेत गरे । फिल्म पत्रकारहरु गसिप र जुसी कन्टेन्टमा नभई शुक्ष्म रुपमा फिल्म क्षेत्रको अध्ययन गरेर अघि बढ्नुपर्ने प्रशिक्षक तिमल्सेनाको धारण व्यक्त गरे । 

यस्तै  प्रशिक्षक दीपेन्द्र लामाले समीक्षा लेखनको आधारभुत तत्व बारे प्रकाश पारे । समीक्षा लेखन आफैमा जटिल कार्य भएकाले सत्य र तथ्य जानकारी पाठक र दर्शकलाई दिनु समीक्षकको धर्म रहेको बताए । 

२० र २१ गते सम्म चलेको कार्यशालामा ४० जना चलचित्र पत्रकारहरुको सहभागिता रहेको चलचित्र पत्रकार संघ कास्की शाखाका अध्यक्ष अरुण गिरीले जानकारी दिए । 


फोटो : जक्सन डटकम