समाचार

गल्याङ, माघ १४ । स्याङ्जाको गल्याङ नगरपालिकाको दशौं नगरसभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना संक्रमणको जोखिम रहेको भन्दै नगरपालिकाले शुक्रबार भर्चुअज (प्रविधि)द्वारा नगरसभा गरेको हो । 

गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारी, नगर उपप्रमुख देवीसरा थापा, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु भर्चुअल माध्यमद्वारा नगरसभामा उपस्थित जनाएका थिए । नगरप्रमुख, उपप्रुमख र प्रशासकीय अधिकृत नगरपालिकाको कार्यालयबाट, वडाअध्यक्षहरु वडा कार्यालबाट र अन्य कार्यपालिका सदस्यहरु आ–आफ्नो घरबाट भर्चुअलद्वारा उपस्थित थिए । 

नगरप्रमुख अधिकारीले कोरोना संक्रमणका कारण भौतिक माध्यमद्वारा नगरसभा सम्पन्न गरिएको जानकारी दिए । उनले भने, ‘कोरोना महामारीले भौतिक रुपमा नगरसभा कठिनाई भयो । भर्चुअल माध्यमद्वारा गरिएको नगरसभा भौतिक रुपमा गरिएको भन्दा कमी छैन ।’

नगरपालिकाको प्रशासनिक भवन सहितका भौतिक संरचना बनाउनुपर्ने भएकाले विकासमा धेरै बजेट राख्न नसकिएको नगरप्रमुख अधिकारीले बताए । 

कोरोना संक्रमण तीन वर्षसम्म झेल्नुपर्दा धेरै समस्याहरु आइरहेको भन्दै केही समयपछि प्रत्यक्ष रुपमा छलफल गर्ने वातावरण बन्ने उनले आशा व्यक्त गरे ।  

सभामा गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापाले राजश्व आम्दानीको स्रोतमा वर्तमान अवस्थाबारे जानकारी गराइन् । 

यस्तै प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले नगरपालिका प्रशासकीय कार्यसम्पादन बारेमा नगरसभामा जानकारी गराएका थिए ।