हरिनास गाउँपालिका

स्याङ्जा । हरिनास गाउँपालिकामा खाना पकाउने ग्यास लिक हुँदा तीनजना घाइते भएका छन् । वडा नम्बर ६ नारायण मानन्धरको घरमा खाना पकाउने क्रममा ग्यास लिक हुँदा मानन्धर सहित तीनजना घाइते भएका हुन् । 

बुधबार राति साढे आठ बजेतिर खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगोलागी हुँदा मानन्धर सहित तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेहरुमा सोही वडा बस्ने ३४ वर्षीय खिम नारायण मानन्धर (रोशन) र अर्का २० वर्षीय विशाल मानन्धर रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् डिएसी रबिन्द्र खनालले नारायण र खिमको दुवै खुट्टा पोलेको जानकारी दिए । यस्तै बिशालको दुवै खुट्टा र अनुहार पोलेको जानकारी दिए । 

उनीहरुको अवस्था मध्यम रहेकाले थप उपचारका लागि पश्चिम क्षेत्रिय अस्पताल पोखरा लगिएको प्रवक्ता खनालले बताए ।