वालिङ नगरपालिका


स्याङ्जा । वालिङ नगरपालिकाले सहकारीका ऋणीहरुलाई ऋण तिर्न सूचना प्रकाशन गरेको छ । नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाका ऋणीहरुलाई ऋण तिर्न बिहीबार सूचना जारी गरेको हो । 

ऋणीले समयभित्र साँवा ब्याज चुक्ता नगर्दा बचत फिर्तामा समस्या परेकाले सहकारी संस्थाको अनुरोधमा सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले भने, ‘सहकारी संस्थाहरुले सहजीकरणका लागि अनुरोध भएको छ । वहाँहरुको अनुरोधमा सूचना जारी गरिएको हो ।’ समाजमा ऋण तिर्न नपर्ने वा नतिर्ने भन्ने जस्ता गैर जिम्मेवार अभिव्यक्तिहरु आएकाले जिम्मेवार कार्यालयको तर्फबाट सूचना जारी गरेको अधिकृत शर्माले बताए । 

तोकिएको समयभित्र ऋणको साँवा ब्याज चुक्ता नगरे वालिङ नगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६१ अनुसार कार्वाही गर्नुका साथै पालिकाद्वारा प्रदान गरिने सेवा सुविधा समेत रोक्का गरिने नगरपालिकाले चेतवानी दिएको छ ।  

वालिङ नगरपालिकाको क्षेत्राधिकार भित्र १ सय ३ वटा सहकारी संस्था छन् । जसमध्ये बचत तथा ऋण २५ वटा, बहुउद्धेश्यीय २४ वटा, साना किसान, कृषि, उत्पादन लगायत ५४ वटा रहेका छन् ।