स्याङ्जा विशेष

स्याङ्जा । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाले गैरपत्रकारलाई महासंघको सदस्यताका लागि सिफारिस गरेको भन्दै प्रेस चौतारी स्याङ्जा शाखाले ध्यानाकर्षण गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रको सदस्यता वितरण तथा शुद्धीकरण अभियान नेपाल पत्रकार महासंघ स्याङ्जाले ठाडो रुपमा उल्लंघन गरेको प्रेस चौतारी स्याङ्जाले आरोप लगाएको छ ।
  
प्रेस चौतारी नेपाल जिल्ला शाखा स्याङ्जाका अध्यक्ष हरि प्रसाद सुवेदी (सुशील)द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रको निर्देशन विपरीत एकाघरका सदस्य, राजनैतिक दलका जिम्मेवार पदमा रहेका व्यक्ति, सक्रिय पत्रकारितामा नरहेका तथा कर्मचारी लगायत व्यक्तिहरुको नामावली सिफारिस गरिनु नितान्त, गैरजिम्मेवार कार्य रहेको छ ।’ 

महासंघ स्याङ्जा शाखाको कार्यले श्रमजीवी पत्रकारहरुको पहिचानमा ठेस पुगेको तथा पत्रकारिता जगतकै बदनाम भएको प्रेस चौतारी स्याङ्जाले जनाएको छ । महासंघ स्याङ्जाको गैरकानुनी र गैरजिम्मेवार कार्य तत्काल नसच्चिए प्रेस चौतारी स्याङ्जा कडा रुपमा प्रस्तुत हुने चेतवानी समेत दिएका छन् ।
 
प्रेस चौतारी नेपाल स्याङ्जा न्याय प्राप्तिको संघर्षमा सधै एकताबद्ध रहदै आएको स्मरण गरेका छन् । चौतारीको रचनात्मक कार्यका लागि सहयोग गर्न अन्य संघ–संगठनलाई समेत आग्रह गरेका छन् ।