स्याङ्जा विशेष

गल्याङ, असार २० गते । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अनुदान पाउने भन्दा पनि बजारको ग्यारेण्टीका विषयमा किसानले बढि जोड दिनुपर्ने बताएका छन् । नगरप्रमुख अधिकारीले अनुदानले मात्रै किसान उत्साहित नहुने भन्दै बजारको ग्यारेण्टीको भएमा किसान आत्मनिर्भर बन्न सक्ने बताए ।

तुल्सीभञ्ज्याङ सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा आइतबार भएको सिप विकासमा तरकारी खेती तालिम समापन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘हामीले किसानलाई उत्साही बनाउनका लागि थुप्रै अनुदानका कार्यक्रम ल्याएका छौं । सँगै बजारको ग्यारेण्टी पनि गरेका छौं ।’

उनले अनुदानमुखी भन्दा पनि बजारमुखी कार्यक्रम सोच्नुपर्ने भन्दै त्यसमा नै अहिले जोड दिइएको बताए । विगतदेखि दिदै आएको दुधमा प्रतिलिटर १५ रुपैयाँको अनुदानको व्यवस्थालाई अहिले पनि निरन्तरता दिइएको जानकारी दिए ।