खेलकूद

काठमाडौं । नेपाल भलिबल संघले सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल क्लब लिगको खेलको क्रममा दर्शकलाई हातपात गर्ने त्रिभुवन आर्मी क्लब धनबहादुर भट्ट लगायत तीनजनालाई प्रतिबन्ध लगाएको छ । 

नेपाल भलिबल संघद्वारा छानविन गर्न बनेको ५ सदस्यीय समितिले बुझाएको प्रतिवेदनको आधारमा धनबहादुर भट्टलाई ६ महिना, राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३–३ महिना प्रतिबन्ध लगाएको हो । भट्टलाई ६ महिना, विष्ट र कुँवरलाई ३–३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगिमा प्रतिबन्ध लगाउने निर्णय भएका नेपाल भलिब संघका महासचिव एवम् प्रतियोगिताका संयोजक रोशन श्रेष्ठले जानकारी दिए । 

प्रतियोगिताका संयोजक रोशन श्रेष्ठ संयोजकत्वमा बनेको समितिले बुझाएको प्रतिवेदन र त्यसले दिएको सुझावको आधारमा प्रतियोगिता कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले प्रतिबन्ध लगाएको हो । छानबिन समितिको अन्य सदस्यहरुमा भलिबल संघका सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अञ्जु श्रेष्ठ र जुनु रहेका थिए । 

बैठकले अर्का खेलाडी दुर्गा बहादुर खड्कालाई समेत सचेतना गराउने निर्णय गरेको छ । विवादित खेलको रेफ्री चित्र गुरुङ र अनिल रानालाई क्लब च्याम्पियसिप र क्लप लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने निर्णय समेत भएको छ । तर, गुरुङ र रानाको कार्वाही कति समयसम्म हो भनेर तोकिएको छैन । 

छानबिन समितिले आर्मीका खेलाडी, टिम र उजुरी दिने दर्शकको बयानका आधारमा छानबिन गरेको थियो । छानबिनका क्रममा आर्मीका खेलाडी र उजुरीदिने दुवैपक्षसँग बयान लिएको थियो । गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३–२४ को अवस्था रहँदा गण्डकीले चेकआउट हुँदा आर्मीलाई नम्बर दिएको बन्दै गण्डकीका खेलाडी असन्तुष्ट हुँदा घट्ना घटेका थिए । त्यसैक्रममा आर्मीका खेलाडीलाई दर्शकदीर्घबाट अपशब्द बोल्नुका साथै पानीको बोत्तल प्रहारपछि आर्मीका खेलाडी संयमित हुन नसक्दा घट्ना घटेको थियो । 

शनिबार सम्पन्न महिला तथा पुरुष भलिबल क्लब लिगको उपाधि पुरुषतर्फ टिपटप हेल्न नेपाल र महिला तर्फ नेपाल पुलिसले जितेको छ । टिपटपले नेपाल पुलिस क्लबलाई र नेपाल पुलिस क्लबले एफिएफ क्लबलाई हराउँदै च्याम्पियन बनेको हो । विजयी टिमले जनही ६–६ लाख रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।