स्याङ्जा विशेष

नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङ वालिङ आउने भएका छन् । मातापिता प्रतिष्ठान वालिङ स्याङ्जाको आयोजनामा हुने एक बृहत अन्तरक्रिया कार्यक्रमका लागि कार्तिक १८ गते शनिबार वालिङ आउने भएका हुन् । 

वालिङवासी युवाहरुलाई प्राचीन सभ्यता, धर्म, संस्कृति, संस्कार, रितीरिवाज र चाडपर्व लगायतका विषयहरुको वैज्ञानिक महत्व बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका संयोजक प्रदीप बगालले भने, ‘संस्कार र संस्कृति बारे बुझ्नु बुझाउने आजको अपरिहार्य हो । नयाँ पुस्तालाई सुसूचित गराउने हाम्रो दायित्व हो ।’

पश्चिमा राष्ट्रहरूमा व्यापक प्रयोगमा आउने गरेको ‘ओल्ड यज क्लब’ को महत्व र आजको नौलो समाजमा यसको आवश्यकता बारे छलफल गर्दै क्लबको स्थापना लगायतका कार्यक्रम पनि अगाडि बढाउने प्रतिष्ठानका सचिव भरत बगाले योगी जीले बताए । ‘समाजमा बाल क्लब, युवा क्लब लगायत विभिन्न सामाजिक संघ संस्था भएतापनि बृद्दबृद्दाका लागि उपयुक्त छैनन्,’ बगालेले भने, ‘क्लबमा आवद्द भएर पुराना संस्कार सुन्न र सिक्न सकुन् । सुसंस्कृत, संसंगठित सभ्य पुस्ता हस्तान्तरणको बलियो माध्यम बन्न सकोस् ।’

कार्यक्रममा ऋषि प्राज्ञ डा. गुरुङ सहित धार्मिक अभियन्ता चैतन्य कृष्ण र प्रा. डा. जगन्नाथ रेग्मी लगायतका वक्ताहरु आउने आयोजकले जनाएको छ । 

कार्तिक १८ गते आयोजना गरिने कार्यक्रमको तयारीका लागि वालिङ् नयाँ बजारमा सम्पर्क कार्यालय समेत स्थापना गरिएको छ ।