समाचार

वालिङ । नेकपा (एमाले) वालिङ नगर कमिटीका सचिव यामकान्त खनाल पार्टीको निलम्बनमा परेका छन् । वालिङ स्थित उपकार बचत तथा ऋण सहकारी संस्था लि. को नवौं अधिवेशनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध (बागी) उम्मेदवारी दर्ता गरेकाले खनाललाई कार्वाही गरिएको हो ।

खनाललाई आजको मितिबाट वालिङ नगर कमिटीको सचिव र अन्य सम्पूर्ण पदीय जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरिएको छ । 

नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारस)ले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान नियमावली, निणर्य तथा आचारसंहिता विपरीत उपकार साकोसको नवौं अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार दर्ता गरेकाले कार्वाही गरेको बताए । 

अध्यक्ष गैह्रेले भने, ‘पार्टीलाई कमजोर बनाउने कार्यमा वहाँको प्रत्यक्ष संलग्न देखिएको छ । वहाँको उम्मेदवारले पार्टीलाई कमजोर बनाउने निष्कर्षका साथ वहाँ (यामकान्त खनाल)लाई कार्वाही गरिएको हो ।’

पार्टी विधानको धारा ८० को उपधारा (३) (४) (१२) र (१३) को उल्लंघन गरेकोले कार्वाही गरिएको उनले बताए ।