समाचार

स्याङ्जा । स्याङ्जाको फेदीखोलामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । हिम शिखर क्लबको आयोजनामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल आयोजना हुन लागेको हो । 

क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको चैते दशैं मेलाको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ११ हजार १११ र दोस्रो हुने टोलीले ७१ हजार १११ प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलीलाई आयोजकले नै खानपिन र बासको व्यवस्था गर्नेछ । टोलीहरुले प्रतियोगितामा सहभागी हुनका लागि ५ हजार प्रवेश शुल्क तिर्नुपर्ने छ ।  

यस्तैगरी सो अवसरमा ४० वर्षभन्दा माथिका खेलाडीहरुको भेट्रान्स प्रतियोगिता समेत हुनेछ । भेट्रान्सतर्फ प्रथम हुने टोलीले लोकल खसी पुरस्कार प्राप्त गर्नेछन् । 

प्रतियोगिता सफल बनाउन स्वदेश तथा बिदेशमा रहेका सुभचिन्तकहरुबाट आर्थिक सहयोग जुटेको खेल संयोजक रुद्र गुरुङले जानकारी दिए । प्रतियोगिताका लागि फेदिखोला गाउँपालिकाले समेत वडामार्फत ५० हजार बजेड छुट्टयाएको छ । 

मेलाको अवसरमा भलिबलका साथै घैटो फुटाउने, छेलो हान्ने खेल पनि आयोजना हुने आयोजकले जानकारी दिएको छ । सम्योजक रुद्र गुरुङले जानकारी दिए ।

मेला र प्रतियोगिताको अवधिभर स्थानीय र राष्ट्रिय कलाकारहरुले नृत्य र साङ्गितिक प्रस्तुति रहनेछन् । लोक तथा दोहोरी कलाकारहरु श्याम राना मगर, दुर्गा गुरुङ, शंकर बिरही गुरुङ, माया गुरुङ लगायत कलाकारले प्रस्तुती दिने आयोजक कलबका अध्यक्ष टुक बहादुर गुरुङ (देउता) ले जानकारी दिए । 

प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष गुरुङको नेतृत्वमा २३ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । प्रतियोगितामा २० भन्दा बढी टोलीले सहभागीता जनाउने आयोजकको अनुमान छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च हुने अनुमान गरिएको छ ।

वि. स. २०५० सालमा स्थापना भएको हिमशिखर क्लबले नियमित रुपमा यस्ता खेलकुद कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।