विश्व

क्यालिफोर्निया । अमेरिकी सामाजिक संजाल फेसबुकले तालिवानलाई अझैपनि आफूले आतंकवादी संगठनको सूचीमा राखेको भन्दै प्लेटफर्ममा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ ।

तालिवानलाई आफूले आतंकवादी सूचीमा राखेकाले उससँग सम्बन्धित सामाग्रीलाई प्रतिबन्ध लगाइएको फेसबुकले जनाएको छ । तालिवान सम्बन्धित सामाग्री पहिचान गर्न र हटाउन फेसबुकले अफगान विज्ञहरुको समूह बनाएको छ ।

तालिवानले वर्षौंदेखि फेसबुकमार्फत आफ्ना धारणा राखिरहेको छ । अफगानिस्तानको सत्तालाई नियन्त्रणमा लिएपछि तालिवानलाई कसरी हेर्ने भन्ने समस्या अमेरिकी प्रविधि कम्पनीहरुलाई परिरहेको छ ।


‘अमेरिकी कानूनले तालिवानीलाई अझैपनि आतंकवादी संस्था मान्छ । हामीले उनीहरुलाई हाम्रो सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएका छौं । यसको अर्थ उनीहरुको अथवा उनीहरुका लागि बनाइएका अकाउन्टहरु बन्द गर्ने र उनीहरुको प्रशंसा, समर्थन वा प्रतिनिधित्व गर्ने सामाग्री हटाउने हो’ फेसबुक प्रवक्ताले बीबीसीलाई भने ।

फेसबुकले यो नीति इन्स्टाग्राम र ह्वाट्स एपमा पनि लागू हुने जनाएको छ ।