समाचार

स्याङ्जा, माघ २८ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनमा चापाकोटमा कृषि तथा वन क्याम्पस सञ्चालन गर्न आयोजित अन्तरक्रिया कार्यक्रम बिहीबार चापाकोटको सुन्तलीटारमा सम्पन्न भएको छ । 

कार्यक्रमका मुख्य वक्ताका रुपमा बोल्दै पूर्व मन्त्री पदमा अर्यालले कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र कमाईसँगै हुने मोडेलबाट सुरु गर्नुपर्ने जोड दिइन् । मन्त्री अर्यालले भनिन्, ‘जल, जङ्गल र जमिन नेपाल र नेपालीको सम्पत्ति हुन् । यसलाई समृद्ध नेपालको आधार बनाउन सकिन्छ ।’

चापाकोटमा क्याम्पस स्थापना गर्नका लागि जग्गा व्यवस्थापन र सम्बन्धनको काम मात्र सम्पन्न भएको बताउदै अब पूर्वाधार, जनशक्ति तथा प्रशासनिक काम कार्वाहीका निम्ति तीन तहकै सरकारलाई परिचालन गर्न भूमिका खेल्ने समेत मन्त्री अर्यालले प्रतिबद्धता जनाइन् । 

कार्यक्रममा गण्डकी प्रदेश शिक्षा मन्त्री मेखलाल श्रेष्ठले क्याम्पस सञ्चालन हुँदा सबैलाई फाइदा पुग्ने बताए । आजको शिक्षा व्यवहारिक र जनमुखी हुनुपर्ने मन्त्री श्रेष्ठको भनाई थियो । 

कार्यक्रममा कृषि तथा वन विज्ञान उपकुलपति रामपुरका रजिष्टार पुण्यप्रसाद रेग्मी, गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मी, भागवतप्रकाश मल्ल, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पारस गैह्रे, सचिव राजेन्द्र डुम्रे, नेपाली काँग्रेस क्षेत्रीय सभापति दिलिपप्रताप खाँड, प्राध्यापक हिमाल लुइँटेल लगायतको उपस्थिति रहेको थियो । 

चापाकोटमा कृषि तथा वन क्याम्पस सञ्चालनका लागि १ सय २० रोपना जग्गा क्याम्पसको नाममा खरिद गरिसकेको र सम्बन्धनको काम समेत सकिएको छ । चापाकोट कृषि तथा वन क्याम्पस बनेसँगै चापाकोट, रामपुर, पाल्पा, तनहुँ लगायतका विद्यार्थीहरु लाभवन्तित हुनेछन् ।