समाचार

स्याङ्जा, फागुन ११ । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले बिहीबार निर्देशन जारी गरेको छ । जिल्ला कमिटीका अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारस)द्वारा हस्ताक्षर विज्ञप्ति मार्फत असान्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे विशेष निर्देशन जारी गरिएको हो ।  

विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचन हुन अझै ३ महिना बाँकी छ । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषण गरेता पनि निर्वाचन सम्बन्धी आचारसंहिता र तालिका सार्वजनिक नगरिसकेको अवस्थामा केही नेता तथा कार्यकर्ताहरुले आफू वा अर्का कुनै व्यक्तिलाई उम्मेदवार भनी सामाजिक सञ्जाल वा सार्वजनिक स्थानमा अभिव्यक्ति दिने गरिएकोबारे विशेष निर्देशनद्वारा ध्यानाकर्षण गरिन्छ ।’

पार्टीको संगठनात्मक विधि र पद्धति बमोजिम आवश्यक समयमा पार्टीले उम्मेदवारको टुङ्गो लगाउने विज्ञप्ति मार्फत एमाले नेता–कार्यकर्तालाई जानकारी दिइएको छ । पार्टीको निर्णय अगावै उम्मेदवारहरुको विषयमा सामाजिक सञ्जाल वा सार्वजनिक स्थलमा घोषणा वा छलफल गर्ने पाइएमा पार्टी अनुशासन उल्लंघन गरेको मानी पार्टीको विधि पद्धति अनुरुप कारबाही गर्ने चेतावनी दिइएको छ । 

पार्टी केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहस्तरको कमिटीले औपचारिक रुपमा निर्णय गरेका कार्यक्रमलाई कार्यान्वय गर्नेगरी ‘टोल–टोलमा संगठन, घर–घरमा समर्थक’ निर्माणको अभियानमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन छ । 

पार्टी हित विपरीत व्यक्तिगत वा समूहगत रुपमा गर्न खोजिने कार्यले पार्टीलाई कमजोर बनाउने संस्मरण समेत विज्ञप्ति मार्फत गरिएको छ ।