समाचार

स्याङ्जा, फागुन १७ । नेकपा (एमाले) स्याङ्जाले आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम अर्जुनचौपारी गाउँपालिकाबाट सुरु गरेको छ । नेकपा (एमाले) अर्जुनचौपारी गाउँपालिका कमिटीद्वारा अर्जुनचौपारीमा आयोजित प्रशिक्षण कार्यक्रम पार्टीका स्याङ्जा जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारस)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गत फागुन १४ गते सम्पन्न जिल्ला कमिटीको बैठकले जिल्लाका ११ वटै स्थानीय तहमा निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको थियो । 

प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष गैह्रेले आगामी बैशाख ३० गते घोषण भएको स्थानीय तह निर्वाचनमा स्याङ्जाका ११ स्थानीय तह र ९७ वटै वडामा अत्याधिक बहुमत सहित विजयी हासिल गर्नुपर्ने पार्टीको न्यूनतम लक्ष्य एवम् उद्धेश्य रहेको बताए । 

प्रतिस्पर्धी पार्टीहरुको नेतृत्व भन्दा नेकपा (एमाले)को नेतृत्व दुरदर्शी, प्रखर र प्रभावशाली भएको बताउँदै ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा साकार पार्न केपी शर्मा ओली सरकारले गरेका दूरगामी महत्वका कामहरुको प्रचारप्रसारले मात्रै एमालेले चुनाव जित्ने कार्यकर्ताहरुलाई अध्यक्ष गैह्रेले प्रशिक्षण दिए । 

विकास, समृद्धि र स्वभिमानमा नेकपा (एमाले)सँग प्रष्ट दृष्टिकोण र स्पष्ट कार्यसूची रहेकाले आमनागरिकमा स्पष्ट रुपमा लैजान समेत कार्यक्रममा उपस्थितलाई निर्देशन समेत दिए । 

यस्तै जिल्ला कमिटीका उपाध्यक्ष कृष्ण खाँणले एमालेसँग सुदृढ, गतिशिल र एकताबद्ध संगठनका साथै विशाल जनआधारित कार्यकर्ताको पंक्ति रहेको बताए । पार्टीको संगठन भर लाग्दो, रहर लाग्दो र डर लाग्दो भएकाले स्थानीय तहको चुनाव निर्विकल्प जित्नेमा नेताकार्यलाई विश्वस्त पारे । 

कार्यक्रमलाई जिल्ला कमिटी उपसचिव विश्व पौडेल, चिनमाया गुरुङ, जमुना चापागाँई, एल. वि. थापा, मोहन अधिकारी लगायतले बोलेका थिए ।