समाचार

स्याङ्जा, फागुन २३ । जिल्लाको पर्यटकीय नगरी मिर्मीमा ठूलो धनराशीको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । कालीगण्डकी गाउँपालिका ७ मिर्मी स्थित नव मिर्मिरे युवा क्लबको आयोजनामा यही फागुन २६ देखि मिर्मी खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । 

प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ५५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार ७५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र र सन्त्वना पुरस्कार नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र रहेका छन् । 

यस्तैगरी खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरेको छ । उत्कृष्ट खेलाडीले नगद ५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, डिफेन्डर र सर्भरले जनाही दुई/दुई हजार नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास, विस्तार एवम् नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष छविलाल भट्टराई बताए । ‘अग्रगामी सामाजिक परिवर्तनका लागि युवा सक्रियता आजको अपरिहार्यता हो । युवाको साहभागी सहितको नेतृत्वले समाज परिवर्तन आवश्यम्भावी छ ।’ संस्थागत (क्लब)तर्फ जिल्लाकै ठूलो धनराशीको प्रतियोगिता रहेको उनले बताए । 

प्रतियोगितामा नेपालका विभिन्न विभागिय टिम र क्लबका खेलाडीहरुको साहभागी हुने खेल संयोजक नारायण भट्टराईले जानकारी दिए । प्रतियोगितामा करिब २० टिमले साहभागी जनाउने आयोजकले जनाएका छन् । 

प्रतियोगितामा साहभागी टिमले टिम दर्ता शुल्क बापत  ५ हजार ५ सय ५५ बुझाउनुपर्नेछन् ।