समाचार

स्याङ्जा, फागुन २३ । नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटी उपाध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मीले पार्टीको १० औं महाधिवेशन पार्टी जीवनमा मात्र नभई सिंगो मुलुकको हितमा कोशेढुङ्गा सावित हुने बताएका छन् । सोमबार नेकपा  (एमाले) वालिङ नगर कमिटीद्वारा आयोजित विस्तारित बैठक एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रेग्मीले भने, ‘महाधिवेशनले निर्दिष्ट गरेका विचार र दृष्टिकोण एमालेका लागि मात्रै होइनन् सिंगो मुलुकको भविष्यका लागि हुन् ।’ 


‘समृद्ध नेपाल–सुखी नेपाली’का लागि महाधिवेशनले महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गरेको बताउँदै एमाले मुलुकको पार्टी भएको उनले दावी गरे । वैचारिक स्पष्टता, सांगठानिक मजबुति र पार्टीभित्रको लोकतान्त्रिक विधिलाई आत्मसाथ गर्नसक्ने नेता–कार्यकर्ता पार्टीभित्र रहेकाले मुलुकहितमा एमालेको विकल्प नरहेको बताए । 


उग्रबमपन्थी, दक्षिणपन्थी र अवसरवादहरुले एमालेलाई पटक पटक सिध्याउने प्रपञ्च रचेतापनि एमालेलाई जनताको साथ रहेकाले केही नलागेको उपाध्यक्ष रेग्मीको भनाई थियो । पार्टीले लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गरी शान्तिपूर्ण आन्दोलनबाट देश र नागरिकको नेतृत्व गरिरहेकाले आफ्नो पार्टी लोकप्रिय रहेको उनको भनाई थियो । 


पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले गरेका तमाम् कार्यहरु जनतामाझ पु¥याउन सके मुलुकमा पुनः एमालेको सरकार बन्नेमा उनले नेता कार्यकर्तालाई विश्वस्त पारे । 

नेकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष कृष्ण खाँणले आसन्न स्थानीय तह र जनवर्गीय संगठनको भूमिका बारे प्रशिक्षण दिएका थिए । पार्टीले अंगालेका विचार, सिद्धान्त, नीति र नियमलाई नागरिकमाझ पु¥याउन भातृ तथा सुभेच्छाक संगठनले पुलको भूमिका खेल्नुपर्ने बताए । ‘जनसंगठन पार्टीको सिपाही हो,’ उपाध्यक्ष खाँणले भने, ‘जनसंगठनबिना पार्टी आन्दोलन अधुरो र अपुरो रहन्छ ।’ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीलाई जित दिलाउन भातृसंगठनको भूमिका अपरिहार्य रहेको उनले बताए । 


नेकपा(एमाले)को संगठन र सदस्यको भूमिका बारे प्रशिक्षण दिँदै जिल्ला कमिटी उपसचिव विश्व पौडेलले जनसंगठन भनेको पार्टी नर्सरी भएको बताए । ‘पार्टीको कार्यकर्ता उत्पादन गर्ने नर्सरी जनसंगठन हो’, उपसचिव पौडेलले भने, ‘जनसंगठन निर्माणबिना पार्टी निर्माण हुन सक्दैन ।’ 

पार्टीमा बहुमतको अधिनस्त अल्पमत हुने बताउँदै आसन्न निर्वाचनमा पार्टीले मूल्याङ्कन गरी उम्मेदवार तय गरिने उनले बताए । 


प्रशिक्षण कार्यक्रमलाई गण्डकी प्रदेश संगठन कमिटी सदस्य उदय श्रेष्ठ र जिल्ला कमिटी सचिवालय सदस्य एवम् वालिङ नगर कमिटी इन्चार्ज दिलीप बगालेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 


बैठकमा नेकपा (एमाले) वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलले समग्र वालिङ नगर कमिटीको रिर्पोटिङ गरेका थिए ।