समाचार

स्याङ्जा । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाका पूर्व सदस्य श्रीप्रसाद गुरुङको सोमबार बिहान असामयिक निधन भएको छ । भीरकोट नगरपालिका ९ का गुरुङको ५१ वर्षको उमेरमा सोमबार पोखरामा निधन भएको हो । 

नेता गुरुङ १ वर्षदेखि दुवै मृगौला समस्याले पीडित थिए । उनको आजै पोखरास्थित रामघाटमा दाहसंस्कार गरिने नेकपा (एमाले) भीरकोट नगर कमिटीका अध्यक्ष विश्वनाथ अर्यालले जानकारी दिए । गुरुङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली तथा बिदाइ गर्न नेकपा (एमाले)का केन्द्रीय, प्रदेश तथा जिल्ला कमिटीका नेता पोखरा जाँदैछन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा भीरकोट नगरपालिका ९ नम्बर वडाका अध्यक्ष पदका प्रत्यासी समेत रहेका गुरुङ भीरकोटमा राजनीतिक तथा सामाजिक क्षेत्रमा लोकप्रिय थिए ।

उनी करिब ७ वर्षदेखि पोखरामा बस्दै आएका थिए । गुरुङको १ श्रीमति, ३ छोरा र १ छोरी छन् । 

उनको निधनप्रति नेकपा (एमाले) भीरकोट नगर कमिटी र नेकपा एमाले जिल्ला कमिटीले गहिरो दुःख व्यक्त गरेका छन् ।