समाचार

स्याङ्जा । १५औं संस्करणको बिरुवा बजार मेला २०७८ हुने भएको छ । बालकन्या युवा क्लब, समाज कल्याण आमा समूह, बिरुवा उद्योग वाणिज्य संघ र बिरुवा बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा अगामी चैत ४ देखि ७ गतेसम्म मेला आयोजना हुने भएको हो । 

मेला अवधिभर दर्शक तथा श्रोताहरुलाई विभिन्न कार्यक्रमहरु मार्फत मनोरञ्जन प्रदान गरिने कार्यक्रमका संयोजक अब्बु मियाँले दृष्टि लाइभलाई बताए । पुरुष भलिबल प्रतियोगिता, साँस्कृतिक (लोकदोहोरी, हाँस्यव्यङ्ग्य र नृत्य) प्रस्तुति, बालउद्यान लगायतका कार्यक्रमहरु मेलाका मुख्य आकर्षकका रुपमा रहने उनले बताए । 


मेलाका मुख्य आकर्षणहरु

पुरुष भलिबल प्रतियोगिता–‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मेलामा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सन्त्वना हुने टिमले क्रमशः ७०, ४०, २० र १० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै प्रतियोगितामा वेस्ट प्यलेर, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर र वेस्ट लिफ्टर विधा पनि पुरस्कारको व्यवस्था गरिएको छ । 

बालउद्यान–मेलामा बालबालिका, युवा, बृद्ध–बृद्धासबैका लागि बालउद्यान हुने भएको छ । बालउद्यानलाई मेलाको विशेष आकर्षणको रुपमा लिइएको छ । 

सांस्कृतिक कार्यक्रम–मेला अवधिभर मनोरञ्जन प्रदान गर्नका लागि विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाए । लोकदोहोरी कलाकारहरु रामजी खाँड, दुर्गा गुरुङ, शंकर ‘विरही’ गुरुङ, घनश्याम रिजाल, श्याम राना मगर, प्रिन्स लम्साल, गणेश राना मगर, बालकृष्ण वाग्ले, सबिना गुरुङ, सुरेश राना मगर, कमला गैह्रे, विना थापा मगर, ओम गुरुङ, बत्ति थापा मगर, निशा गुरुङ र रोशन गुरुङ (गण्डकी तारा–२०७६) लगायतका कलाकारहरुले गीत गाउनेछन् । 

यस्तै दीपक थापा मगरको हाँस्य व्यङ्ग्य, सर्जन थापा मगर, उर्मिला गुरुङ नायिका/मोडल, आशु गुरुङ मोडल/कलाकार, जुनिमा गुरुङ मोडल/डान्सर र मिना गुरुङ डान्सर नृत्य रहने आयोजकले बताए । 

भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कूल दमौली, नव साधना कला केन्द्र पोखरा, स्थानीय आमा समूहहरुको नृत्य, रत्यौली, सोरठी, सालैजो, यानीमाया, सुनीमाया लगायत लोपोन्मुख सांस्कृतिक कार्यक्रमहरु पनि रहेका छन् । 


मेलाका अन्य आकर्षणहरु तर्फ घैँटो फुटाउने, रस्साकस्सी गर्ने (तान्ने) लगायतका कार्यक्रम पनि रहेको आयोजकले बताए ।