समाचार

पोखरा, चैत ६ । चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटी सदस्यमा मनोनित भएका छन् । आइतबार पोखरामा बसेको गण्डकी प्रदेश संगठन कमिटीले गायक न्यौपानेलाई प्रदेश संगठन कमिटीमा मनोनित गर्ने निर्णय गरेको हो । 

उनले स्वर भरेका श्रीखण्ड चन्दन, बलम देवी थान, फूलको वासना, ऐना हेरेर, झिलझिल सितरा, मिर्मीमुनि काली थुनेको, पूर्वैमा झ्याल राखे, घाम जस्तो चम्किलो जुन हुदैन, सरारर पानी घट्टामा, मायाले मार्यो, मुग्लिन झरौंला, आँधीखोला स्याङ्जा बजार लगायत दर्जनौं गीतहरु चर्चित छन् । 

उनले लोकगीत, लोकदोहोरी, तीजगीत, भजन, चुड्का, चिनारीगीत र जागृतिगीतगरी करिब १ हजार भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । 

कालीगण्डकी गाउँपालिका ५ स्थायी घर भई न्यौपाने हाल पोखराको विरौटमा बस्छन् । 

न्यौपाने सहित गण्डकी प्रदेशका ११ जिल्लाबाट १६ जनालाई प्रदेश कमिटीमा मनोनित गरिएको प्रदेश कमिटीका सचिवालय सदस्य मिन प्रसाद गुरुङले जानकारी दिए ।