समाचार

चैत १६, स्याङ्जा । वालिङ नगरपालिकाले पशुपालक कृषकहरुलाई घरमै सेवा दिने उद्देश्यले घर घरमै औषधिसहित पशु प्राविधिकहरु खटाउन शुरु गरेको छ ।

पशुपालक कृषकहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा आईपर्ने प्राविधिक समस्याहरुका बारेमा कार्यालयमा आईरहनुपर्ने अवस्थाको अन्त्य गर्दै घर आँगनमै सेवा दिने मुख्य उद्देश्यसहित यो अभियान थालिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए ।

पशुपालन गर्ने कृषकहरुलाई कार्यालयसम्म आईरहनुपर्दा र प्रक्रिया पूरा गर्न झण्झटिलो हुने भएकाले प्राविधिकहरुमार्फत घर घरमै पुगेर सेवा दिनुपर्छ भन्ने मनसायले अभियानको थालनी गरेको उनले बताए । ‘औषधिसहित प्राविधिकहरु घर घरमै पुगेर विशेष गरी दुधालु गाईभैंसीमा बाँझोपन निराकरण तथा पशु स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई अभियानकोरुपमा सञ्चालन गरेका हौं’, उनले भने । 

विशेष गरी ब्यवसायिकरुपमा गाईभैंसी, बाख्रापालन गर्ने कृषकहरुसँग घर घरमै पुगेर ब्यवसाय सञ्चालनका क्रममा आईपरेका समस्याहरुकाबारेमा जानकारी लिने, घरमै पुगेर उपचार गर्ने, निशुल्क औषधि वितरण गर्ने र आवश्यक परामर्श दिईने अभियानको उद्धेश्य रहेको छ । वालिङ नगरपालिका मासु र दूधमा आत्मनिर्भर रहेको बताउँदै पशुपालनका क्रममा देखिएका समस्याहरुलाई समाधान गर्दै अझै लागत घटाउने र उत्पादन बढाउनकालागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने नगरपालिकाले जनाए । 

नगरभित्रका १४ वटै वडामा ब्यवसायिकरुपमा फर्म सञ्चालन गरेका ३० वटा फर्महरुमा पहिलो चरणमा पुगेर सेवा दिईने पशु शाखा प्रमुख डा. बसन्तकुमार अधिकारी जानकारी दिए । ‘ब्यवसायिकरुपमा पशुपालन गर्नुभएका पशुपालक कृषकहरुका फर्ममा पुगेर निःशुल्करुपमा प्राविधिक सेवा र औषधि उपलब्ध गराउँछौं’ प्रमुख अधिकारीले भने, ‘अब पशुपालक कृषकहरु समस्या लिएर नगरपालिका कार्यालय वा प्राईभेट एग्रोभेटहरुमा गईरहनुपर्ने अवस्थाको अन्त्य गर्ने छौं ।’

घरमै प्राविधिक सेवा र भैंसीमा देखिएको बाँझोपनको कारण पत्ता लगाई निःशुल्क औषधि उपलब्ध गराईदिएकोमा आँफूलाई खुशी लागेको मिनी कटौंजे भैंसीपालन फर्मका सञ्चालक कुश्माखर सुबेदीले बताए ।