समाचार

स्याङ्जा, चैत १८ । नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव पदमा अर्यालले आसन्न स्थानीय तहको निर्वाचन कुनै शक्तिको आर्शिवादले नभई जनताको आर्शिवादले जित्ने दावी गरिन् । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाको बैठकलाई मार्ग निर्देशन गर्दै सचिव अर्यालले भनिन्, ‘एमालेलाई कुनै पार्टीसँग समीकरण गर्नु जरुरी छैन, जनताको आर्शिवाद छ ।’ 

जनताको मत र समर्थन एमालेलाई भएकाले चुनावी समीकरणको आवश्यकता र कसैको आर्शिवाद नचाहिने उनले बताइन् । एमाले पार्टीप्रति दिनाहुँ जनताको विश्वास बढ्दै गएकाले विपक्षी आत्तिएको उनले आरोप लगाइन् ।  

पार्टीको लयमा बोल्न र संगठनको लयमा हिँड्न नेता तथा कार्यकर्तालाई सचिव अर्यालको निर्देशन थियो । पार्टी चुनावमा होमिसकेकाले पार्टी भावना विपरीत बोल्ने जो कोहीलाई कार्बाही हुने उनको भनाई थियो । ‘एमाले कार्यकर्तासँग दम्भी र घमण्डी चरित्र हुदैन,’ उनले थपिन्, ‘फलेको हाँगो जस्तै हुनुपर्छ ।’ जनताको भावना अनुसार नेता कार्यकर्ता चल्नुपर्ने उनको जोड थियो ।