समाचार

स्याङ्जा, बैशाख १८ । चापाकोटमा नेकपा (एमाले)का कार्यकर्ता माथि खुकुरी प्रहार भएको छ  । चापाकोटको सुन्तलीटार बजारमा नेपाली कांग्रेस निकटका युवाहरुको संघातिक आक्रमणबाट चापाकोट नगरपालिका १० का २७ वर्षीय नारायण हिस्कीमगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यलाय स्याङ्जाका डिएसी रबिन्द्र खनालका अनुसार साँखरको चुनावी कार्यक्रम सकेर चापाकोट सुन्तलीटार फर्कदै गरेका एमाले चुनावी प्रचार–प्रसार समूहमाथि कांग्रेस निकटका युवाहरुले भौतिक आक्रमण गरेका हुन् । 

घाइतेको टाउको, ढाड र पेटमा चोट लागेको चापाकोट नगरपालिकाका लागि एमालेका तर्फबाट मेयर पदका उम्मेदवार राजु कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार मगरलाई २७ वटा टाका लगाईको छ । घाइतेको चापाकोट अस्पतालमा प्राथमिक उपचारपछि पोखरा लगिएको छ ।

घट्नामा संलग्नहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । 

गत २०७४ को संघिय निर्वाचनमा तत्कालिन एमालेका तर्फबाट उम्मेदवार बनेकी पूर्वमन्त्री पद्मा कुमारी अर्याललाई समेत चापाकोटको दार्सिङमा भौतिक आक्रमण भएको थियो ।