समाचार

३१ असार २०७९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्वास्थ्य क्षेत्रमा बजेट व्यवस्थापनका दृष्टिले सरकार जनस्वास्थ्यको सवालमा उदासीन देखिएको आरोप लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको स्वास्थ्य क्षेत्रमा भएको एक वर्षे कार्य प्रगतिबारे समीक्षा गर्दै एमालेले सो आरोप लगाएको हो ।

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले सरकारको कामलाई एमालेले २६ बुँदामा समीक्षा गरेको प्रष्ट पार्नुभयो । २०७८ असार २९ गते गठन भएको प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले एक वर्ष पूरा गरे पनि स्वास्थ्य क्षेत्रमा आशातित सफलता प्राप्त गर्न नसकेको एमालेको ठहर छ । 

सरकार गठनसँगै गठबन्धनले जारी गरेको न्यूनतम साझा कार्यक्रम, संघीय संसदमा प्रधानमन्त्रीले गर्नुभएको सम्वोधन, सरकारद्वारा प्रस्तुत नीति कार्यक्रम र विनियोजन बजेट र कार्यान्वयनलाई हेर्दा सरकारले एक वर्ष समय बर्बाद गरेको प्रमुख भट्टराईले आरोप लगाए ।  

प्रमुख भट्टराईले संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदुढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार असफल भएको बताए । संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षाजस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा सरकार असमन्जसमा परेका उनले टिप्पणी गरे ।

साभारः लक्की चौधरी, गोरखापत्र